शेरबहादुर सार्की
बाजुरा, पुस २८ गते । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले यहाँका दुर्गम गाउँबस्तीमा सडक विस्तार गर्दै आएको छ । जिल्लाको विकट क्षेत्रका रुपमा पर्ने यो पालिकामा सात वडा छन् ।
यहाँका ४, ५, ६ र ७ वटा वडापालिका गत वर्षबाट नै सडक सञ्जालको पहुँचमा रहँदै आएका छन् । यहाँका १, २ र ३ वडा निकै विटक क्षेत्र पर्ने भएकोले यी वडामा भने सडक पुग्न सकेको छैन । यी वडालाई पनि सडक सञ्जालले जोड्ने गरी पालिकाले धमाधम सडक विस्तार गर्दै आएको हिमाली गाउँपालिकाले जनाएको छ ।
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने यो पालिका बाजुराको एक विकट क्षेत्रको रुपमा पर्दछ । यो पालिकामा हत्तपत्त सडक विस्तार गर्न निकै कठिन छ । यहाँका प्रत्येक गाउँ बस्तीमा प्रायः ठुल्ठुला चट्टान छन्। ती चट्टान फोडेर गाउँमा बस्तीमा सडक लिनुपर्ने देखिन्छ ।
पालिकाले निकै प्रयास गरेर विगतका वर्षमा यहाँका ४, ५, ६ र ७ वडामा सडक पु¥याउने काम गरेको भए पनि तीन वटा वडामा भने अझै सडक जोड्न बाँकी छ । पालिकाले यो वर्षदेखि ती वडालाई पनि सडक सञ्जालको पहुँचमा राख्ने गरी सडक विस्तार गर्ने काम गरिरहेको हो । यो ठाउँमा सडक निर्माण गर्नु भनेको पालिकाको क्षमताभन्दा बाहिर छ । यहाँका गाउँ बस्तीमा सडक विस्तार गर्नका लागि अहिले प्रदेश सङ्घीय कुनै सरकारबाट बजेट आएको छैन ।
पालिकाले यहाँका स्थानीयको दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आजजामा सहजताका लागि यहाँका प्रत्येक गाउँ बस्तीमा सडक जोड्ने काम तीब्र पारिरहेको छ ।
यहाँका ४, ५, ६, ७ वडामा गत वर्षमा नै गाडी गुड्न थालेका छन् । यहाँ पहिला यातायातको सुविधा नहुँदा स्थानीयलाई हिमाली गाउँपालिकाको धुलाचौर पुग्नलाई एक दिनभन्दा बढी लाग्ने गर्थ्याे । यहाँका स्थानीय घरदेखि गाउँपालिकाकासम्म दुई तीन घण्टामा पुग्ने गर्दछन् । गाउँमा सडक पुग्दा जसरी यहाँका स्थानीयलाई सहज भयो ।
यो सुविधा अन्य १, २, र ३ वडाका स्थानीयलाई दिने गरी पछिल्लो समय पालिकाले प्रत्येक गाउँ बस्तीमा सडक विस्तार गर्दै आएको हिमाली गाउँपालिकाका प्राविधिक जनकबहादुर रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले वडा नं दुईको कवाडीदेखि गोलीगौडाको बिचको भीड काट्ने काम भएको छ । वडा नं –५ को कीउडी पारीबाट पनि १ देखि ३ जिपानाबाट मैतर्ना सबै गरेर सात किलोमिटर सडक सर्भे भएको छ ।”
यसका लागि हिमाली गाउँपालिका र हुम्लाको ताँजाकोट गाउँपालिका, प्रदेश र सङ्घबाट झण्डै तीन करोड रुपियाँ छुट्याएको हिमाली गाउँपालिका प्राविधिक रोकायाले बताउनुभयो ।
बाजुराका अन्य नौ वटा स्थानीय तहमध्ये यो पालिका निकै विकट पर्छ । यती मात्र होइन यहाँका प्रत्येक गाउँ बस्तीमा पुग्न धेरै समय लाग्छ । यहाँका गाउँ बस्तीको बिचमा ठुल्ठुला चट्टाहरु पर्दछन् । यी चट्टाहरु फोडेर ती गाउँ बस्तीमा सडक पुर्याउनुपर्ने भएकोले यस पालिकालाई यहाँका सबै वडा सडक सञ्जालको पहुँचमा राख्न निकै सकस भएको छ ।
यती समस्याका बाबजुद पनि हामीले यहाँका ४, ५, ६ र ७ वटामा गत वर्षमा नै सडक पुर्याएका छौं । जसका कारण अहिले यहाँका स्थानीयले घरदेखि नै यातायात सुविधा पाउने गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सञ्जालको पहुँचमा नरहेका यहाँका अन्य १ देखि ३ वडामा पनि हामीले सडक विस्तार गर्ने काम निरन्तर जारी राखेका छौं ।” अबका केही वर्षमा यहाँका सबै वडामा सडक सञ्जालले जोड्ने गरी अहिले हामीले विभिन्न निकायसँग समन्वय तथा सहकारी गर्दै दुर्गमका गाउँ बस्तीमा सडक विस्तार गर्ने कामलाई निकै तीव्रता दिंदै आएको अध्यक्ष मल्लले बताउनुभयो ।