ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), जेठ १० गते । म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडा बगरफाँटको बस्तीलाई जोड्ने बेलिब्रिज तीन महिनामा तयार भएको छ। बेनी नगरपालिका वडा नम्बर–८, कालीपुलदेखि बगरफाँट बस्तीलाई जोड्न गत फागुन १७ गते कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको थियो। बेलिब्रिजका लागि नदी किनारको वारिपारि पक्की वाल निर्माण गरिएको छ।
बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग चार महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताको म्यादभन्दा एक महिनाअगावै पुल निर्माण सम्पन्न भएको छ।
बेनी–जोमसोम सडक अन्तर्गत पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि निर्माण गरिएको हाल प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई स्थानान्तरण गरिएको हो। ५४ मिटर लामो बेलिब्रिज राख्नका लागि मेसिनरी वालसहित ग्याबिन जाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिएको छ। नदी कटानबाट पुललाई संरक्षण गर्न केही काम बाँकी रहेको निर्माण कम्पनीका सबओभरसियर सनम शाहीले बताउनुभयो।