• १३ वैशाख २०८१, बिहिबार

काभा महिला भलिबल : नेपाल सेमिफाइनलमा

blog

बंगलादेशविरुद्ध अङ्क जोडेपछि नेपालका खेलाडी ।

काठमाडौं, जेठ ९ गते । साबिक विजेता नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा लगातार दुई जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३-० को सोझो सेटमा हरायो ।


तुलनात्मक रूपमा कमजोर बङ्गलादेशमाथि नेपालले २५-१०, २५-८, २५-९ को सहज जित निकालेको थियो । यसअघि सोमबार भएको उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई ३-० कै सोझो सेटमा हराएको थियो । लगातार दोस्रो जितसँगै समूहमा ६ अङ्क बनाएको नेपाल दुई खेल अगावै अन्तिम चारमा पुगेको हो ।

नेपालले जितसँगै समूहमा दुई खेल नै जितेको भारत पनि ६ अङ्क जोड्दै सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो । भारतले किर्गिस्तानमाथि २५-१७, २५-८, २५-८ को जित निकालेको हो । पहिलो खेलमा भारतले बङ्गलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।


यस समूहमा लगातार दुई हार खेपेको बङ्गलादेश र किर्गिस्तान दुई खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् । नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुनेछ । यस खेल जित्ने टोली समूह विजेता बन्नेछ ।

बंगलादेशविरुद्धको खेलमा नेपालका चार खेलाडीले डेब्यु गरेका छन् । कविता भट्ट, प्रगति नाथ, पूजा चौधरी र शान्तिकला तामाङले राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको हो । यस्तै उद्घाटन खेलमा किर्गिस्तानविरुद्ध सङ्गम महतो र रिमा कुँवरले पनि डेब्यु गर्नुभएको थियो ।


आठ टोली सहभागी प्रतियोगिताको समूह ‘बी’मा उज्बेकिस्तान, श्रीलङ्का, मालदिभ्स र काजकिस्तान रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘बी’ अन्तर्गत मंगलबार नै भएको खेलमा काजकिस्तानले श्रीलङ्कालाई ३-१ को सेटमा हराएको छ । काजकिस्तानले २५–१६, २८–२६, १८–२५, २९–२७ ले जित निकालेको थियो ।