सिराज खान
नेपालगञ्ज, जेठ ९ गते । नेपालगञ्ज र सो वरपरका क्षेत्रमा केही समययता देखिएको विद्युत् सम्बन्धी समस्या एकसाताभित्र समाधान हुने विद्युत् वितरण केन्द्र नेपालगञ्जले जनाएको छ । विद्युत् वितरण केन्द्र नेपालगञ्जका प्रमुख दिवाकर प्याकुरेलले नेपालगञ्ज र सो वरपरका लागि विद्युत आपूर्तिमा कुनै अभाव र समस्या नरहेको जनाउँदै केही आन्तरिक कारणले अहिले समस्या देखिएकोमा एकसाताभित्र समाधान हुने बताउनुभएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत् वितरण केन्द्र नेपालगञ्जका प्रमुख प्याकुरेललाई मंगलबार कार्यालयमा बोलाएर विद्युत् अनियमितताबारे जानकारी माग्दा उहाँले सो जानकारी दिनुभयो । वितरण केन्द्रका प्रमुख प्याकुरेलका अनुसार अहिले नेपालगञ्जको विद्युत् खपत ३० मेगावाट रहेको र ३० मेगावाट नै सहज रूपमा आपूर्ति भइरहेकोले केही दिनमै विद्युत् नियमित हुनेछ । उहाँले हावाहुरी र अन्य केही आन्तरिक समस्याका कारण केही फिडरमा समस्या आएकोले एक साताभित्र ती सबै समस्या समाधान गरेर विद्युत्लाई नियमित गरिने बताउनुभयो ।
प्रमुख प्याकुरेलले भन्नुभयो, "हावाहुरी र ट्रान्सफर्मर लगायतमा बेलाबेलामा आउने समस्याका कारण विद्युत् अनियमित हुने गरेको हो । हामीले गर्मीका लागि सबै तयारी गरेका छौँ । खपत बढ्यो भने पनि समस्या हुने छैन ।"
यसअघि नेपालगञ्जका प्रमुख प्रशान्त विष्टले दिनदिनै प्रचण्ड गर्मी बढ्दै गएको बेला चारैतिरबाट विद्युत् अनियमित हुने र भोल्टेज समेत अति नै कम हुने गुनासो आइरहेकोले सो समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो । उहाँले विद्युत् समस्या समाधानका लागि उपमहानगरले जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको जनाउँदै जनताले २४ घण्टा नै विद्युत् पाउनु पर्ने जिकिर गर्नुभयो । सो अवसरमा नेपालगञ्जका उपप्रमुख कमरुद्दीन राईले गर्मी सुरु हुने बित्तिकै विद्युत्मा समस्या आउनु पुरानो रोग भएको जनाउँदै अब यसलाई नदोहोरिने गरी समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पटकपटक विद्युत् जानेआउने तथा भोल्टेज निकै न्यून हुने र केही ठाउँमा घण्टौँ नआउने गरेको जनाउँदै स्थानीय उद्योगी व्यवसायी र सर्वसाधारणले यसअघि नै आन्दोलनको चेतावनी दिइसकेका छन् ।