• १३ वैशाख २०८१, बिहिबार

निलगिरि जलविद्युत आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न

blog

निलगिरि जलविद्युत आयोजनाले निर्माण गरेको विद्युतगृह । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ९ गते ।
 म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ नारच्याङमा निर्माणाधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ ।

निलगिरि खोला हाइड्रोपावरले चार वर्ष अघि एकैसाथ ३८ मेगावाटको निलगिरि पहिलो र ७१ मेगावाटको निलगिरि दोस्रो गरी १०९ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजना निर्माण थालेको थियो । निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो जिल्लामै ठुलो आयोजना हो । अक्करे भीरपहरामा पहुँचमार्ग निर्माण गर्न आयोजनालाई दुई वर्ष लागेको थियो । पहाडको खोचमा आयोजनाका संरचनाहरू निर्माण भएका छन् ।

आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ । निलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको आयोजनाका आवशिय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिनुभयो । पेनस्टक टनेल खन्ने काम सकिएर पहिलो आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिनुभयो । 

दुवै आयोजनाका लागि निर्माण गरिने विद्युतगृहको सिभिल स्टक्चरको काम सकिएर इलोक्ट्रोमेकानिकलको काम थालिएको  उहाँले जानकारी दिनुभयो । भौगोलिक विकटताका बाबजुद पनि आयोजना निर्माणले तीव्रता पाएको उहाँले बताउनुभयो । आगामी ६ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उहाँले दिनुभयो ।  आयोजनामा अहिले प्राविधिक जनशक्ति र मजदुर गरेर करिब पाँचसय जना परिचालन भएका छन् ।

निलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । निलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ । क्यासकेडको विद्युतगृहदेखि निलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । 

यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन् । कठिन भीरपहरा छिचोले आयोजनाको निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ । भौगोलिक विकटताका कारण आयोजना सम्पन्न गर्न निकै चुनौती रहेको आयोजनाका आवशिय इन्जिनियर तामाङले बताउनुभयो ।

इन्जिनियर तामाङले भन्नुभयो, ‘‘हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठुलो चुनौती थियो । तर हामीले सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पुर्‍याउन सफल भएका छौँ ।’’

करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । निलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सब स्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ला हुँदै दाना सब-स्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटामध्य २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ ।