• १३ वैशाख २०८१, बिहिबार

‘बुक फ्रि डे फ्राइडे’ : सीप सिक्न उत्साहित विद्यार्थी

blog

काठमाडौं, जेठ ८ गते । काठमाडौं महानगरपालिकाले शिक्षामा सीप कार्यक्रम लागू गरेसँगै देशको पहिलो शिक्षण संस्था दरबार हाइस्कुलमा सो बमोजिमको गतिविधि अघि बढेको छ । 

वि.सं. १९१० मा स्थापना भएको दरबार हाइस्कुलमा भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालनमा छन् ।

शुक्रबार सीप सिक्ने शैक्षिक तालिकाअन्तर्गत कक्षा २ मा सामाजिक विषयमा गीत र नाचमार्फत मोटो र पातलो भन्ने शब्दको अर्थ बुझाइँदै थियो । मोटो भन्ने अर्थ बुझाउन हातको बुढी औँला र पातलोका लागि कान्छी औँला देखाउँदै विद्यार्थीसँगसँगै शिक्षिका मेनुका खतिवडा नाचिरहनुभयो ।

उहाँले विगतको परम्परागत पढाइभन्दा ‘बुक फ्रि डे फ्राइडे’ अर्थात् शुक्रबार सीप सिक्न विद्यार्थी निकै उत्साहित भएको बताउनुभयो ।

चित्र बनाउन तथा रङ्ग भर्न कक्षा १ का छात्रछात्रा उत्तिकै खुसी छन् । चित्र बनाउन सिकाउँदै गर्नुभएकी शिक्षिका जयन्ती प्रधानले कुनै किताब बिना नै भएको सिकाइ प्रणाली  विगतको भन्दा फरक भएको अनुभव सुनाउनुभयो ।

यस्तै, संस्कृत माध्यमिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म पढाई हुँदै आएको छ । शुक्रबार सीप सिक्ने शैक्षिक तालिका अनुसार संस्कृत माविको कक्षा ९ का विद्यार्थीले आधारभूत तहको मोबाइल बनाउने तालिम लिँदै आएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का प्रशिक्षकले तालिम दिएका छन् ।

काठमाडौं महानगरपालिकाले शुक्रबार सीप सिक्ने कार्यक्रमअन्तर्गतको तालिका सामुदायिक विद्यालयलाई उपलब्ध गराइसकेको छ । सो बमोजिम ‘शिक्षामा सीप’ अन्तर्गत दरबार हाइस्कुलमा कृषि सम्बन्धी गतिविधि जस्तै बिरुवा रोप्ने, गोडमेल गर्ने, हुर्काउने अभ्यास विद्यार्थीले गर्दै आएका छन् ।

भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले चल्दै आएको दैनिक क्रियाकलापभन्दा फरक सिकाइ भएकाले कतिपय व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो । बच्चाहरू, घरमा बनिसकेको खानेकुरा समेत झिकेर खान नसक्ने अवस्थामा पुगेकाले कपाल कोर्ने, दाँत माझ्ने, जुत्तामा पोलिस लाउने जस्ता जीवनउपयोगी सीपहरू सिकाइएको उहाँले बताउनुभयो ।

भानु र संस्कृत दुवै विद्यालयमा स्थानीय नेपाल भाषाको पढाइ पनि हुँदै आएको छ । शुक्रबार सीप सिकौँ कार्यक्रम लागू भएपछि नेपाल भाषा पनि फरक एवम् रमाइलो किसिमले पढाइ भएको छ ।

भानु माविमा करिब छ सय र संस्कृत माविमा पाँच सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । संस्कृत माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले महानगरले आर्थिक वर्ष २०७९/८० मा ९० वटा सामुदायिक विद्यालयमध्ये दरबार हाइस्कुलका दुई र कन्या मन्दिर माध्यमिक विद्यालय गरी तीन वटा विद्यालयलाई नमुना विद्यालय घोषणा गर्‍यो । उहाँले नमुना विद्यालयअन्तर्गत ३० लाख बजेट विनियोजन भएको बताउनुभयो । सोही बजेटबाट संस्कृत माविमा भने यसअघि ‘विद्यालय करेसाबारी’ कार्यक्रम सञ्चालन भएको उहाँको भनाइ छ । 

अहिले कक्षा ९ का विद्यार्थीले जुन विषयको तालिम लिएका छन्, कक्षा १२ सम्म सोही तालिमलाई निरन्तरता दिइने जनाइएको छ । कक्षा ९ देखि १२ सम्मको तालिमको प्रमाणीकरण सिटिईभिटीबाट हुनेछ ।

भिडियोग्राफर : केशब गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।