• २८ पुस २०८१, आइतबार

कम हुँदै कोरोना भाइरस सङ्क्रमित

blog

काठमाडौं, जेठ ७ गते । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ। यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा सङ्क्रमण देखिएको छ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा पनि सङ्क्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताउनुभयो। उहाँले भारतबाट सङ्क्रमित नेपाल नआउनु र कोरोना भाइरस विरुद्धको खोपको प्रभावले सङ्क्रमण घटेको बताउनुभयो। “भारतमा पनि सङ्क्रमण कम थाल्यो। नेपालमा खोपको प्रभाव देखियो”, उहाँले भन्नुभयो, “समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण पनि सर्न पाएन। त्यसैले सङ्क्रमण घटिरहेको छ।”

उहाँले कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको बताउनुभयो। अहिलेसम्म ७० जना सक्रिय सङ्क्रमित रहेका छन्। यस्तै तीन आइसोलेसन, एक जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखापरेपछि सङ्क्रमण बढेको थियो। रासस