• २८ पुस २०८१, आइतबार

काभा भलिबल : सबै टोलीको लक्ष्य उपाधि

blog

ट्रफी सार्वजनिक गर्दै कप्तानहरु ।

काठमाडौं, जेठ ७ गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ । जेठ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिन सहभागी टोली काठमाडौं आइसकेका छन् ।

प्रतियोगिता अघि आइतबार काभा महिला च्यालेन्ज कपको ट्रफी समेत सार्वजनिक गरिएको छ । सहभागी टोलीका कप्तानले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी टोलीका कप्तान र प्रशिक्षक सबैले टोलीको लक्ष्य उपाधि जित्नु रहेको दाबी गरेका छन् । नेपालकी कप्तान अरुणा शाहीले तयारी राम्रो गरेकोले घरेलु कोर्ट र दर्शकको साथमा उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले नेपालको एउटै लक्ष्य उपाधिका ह्याट्रिक गर्नु रहेको प्रतिक्रिया दिनुभयो । नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका आठ राष्ट्रको सहभागिता रहनेछ । जसमा आयोजक नेपालसहित बङ्गलादेश, भारत, मालदिभ्स, श्रीलङ्का, कजाकस्तान, किर्गिस्तान र उज्बेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै भारत, बङ्गलादेश र किर्गिस्तान रहेको छ । समूह ‘बी’मा उज्बेकिस्तान, श्रीलङ्का, मालदिभ्स र काजकिस्तान रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।