• ७ जेठ २०८१, सोमबार

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

blog

प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिताका बारे जानकारी दिइँदै ।

काठमाडौं, जेठ ६ गते । प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा ओलम्पिक तौल पुरुषतर्फ सात र महिलामा ६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ५१, ५७, ६३, ७१, ८०, ९२ र ९२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ५०, ५४, ५७, ६०, ६६ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभाग र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । हरेक तौल समूह र महिला तथा पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।