काठमाडौं, जेठ ६ गते । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले कान्तिपुर हाफ म्याराथनको उपाधि जित्नु भएको छ ।
‘लेट्स गो ग्रिन टुगेदर’ भन्ने नारासहित शनिबार भएको प्रतियोगितामा मुकेशले निर्धारित दुरी १ घन्टा ६ मिनेट ४५ सेकेन्डमा पूरा गर्नुभयो । आर्मीकै राजन रोकाय दोस्रो हुनुभयो । तीर्थ पुन तेस्रो हुनुभयो ।
महिलातर्फ राजपुराले उपाधि रक्षा गर्नुभएको हो । गत वर्षकी विजेता पुलिसकी राजपुरले निर्धारित दुरी १ घन्टा १९ मिनेट १६ सेकेन्डमा पूरा गर्नुभयो । पुलिसकै राममाया बुढा दोस्रो र एपीएफकी पुष्पा भण्डारी तेस्रो हुनुभयो ।
हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख रुपियाँ पुरस्कार पाउनुभयो । दोस्रो हुनेलाई ५० हजार र तेस्रोलाई ३० हजार रुपियाँ पुरसकार प्रदान गरियो ।
थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट सुरु भएको दौड विभिन्न स्थानहुँदै पुन: थापाथली पुगेर सकिएको थियो । प्रतियोगितामा तीन किमी ह्विलचेयर दौड, पाँच किमी कर्पोरट रन र सात किमी कलेज रन स्पर्धा पनि समावेश गरिएको थियो ।