• २७ पुस २०८१, शनिबार

खेलकुद पत्रकार मञ्च पाल्पामा माधव

blog

निर्वाचित पदाधिकारीहरु । तस्बिर : प्रजित शाक्य

पाल्पा, जेठ ५ गते । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा शुक्रबार माधव अर्याल निर्विरोध चयन हुनुभएको छ । पुनः निर्वाचित हुनुभएका अर्यालको यो दोस्रो कार्यकाल हो ।

मञ्चको साधारण सभा तथा जिल्लामा खेलकुद पत्रकारिता रुचि राख्ने पत्रकारहरूको भेलाबाट देव पचभैया उपाध्यक्ष, विजय बौडेल सचिव, कमल अधिकारी कोषाध्यक्ष र दुर्गेश मल्ल सहसचिवमा सर्वसहमतिबाट चयन हुनुभयो ।

एक सदस्य पछि मनोनीत गर्ने गरी तीन सदस्यमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपाने हुनुहुन्छ । नवनिर्वाचित अध्यक्ष अर्यालले पाल्पाको खेलकुद पत्रकारितालाई अगाडि बढाउन सबै क्षेत्रको सकारात्मक सहयोगको खाँचो रहेको बताउँदै आगामी दिनमा खेलकुद पत्रकारिता तालिम सञ्चालन, अवार्ड कार्यक्रमका साथै अन्य रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसअघि भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष रेखीराम रानाले खेलकुद पत्रकारितामा रुचि राख्नेहरूको सङ्गठनबाट अन्य पत्रकारलाई पनि यस क्षेत्रमा रुचि राख्नेगरी आगामी दिनमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा खेलकुदको ‘बिट’ नभएपनि समग्रतामा बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो। 

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य प्रजित शाक्यले खेलकुद पत्रकारिता प्राविधिक विषय भएकाले पनि यसक्षेत्रमा रुचि जगाउनका लागि मैदानमै पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विधागत पत्रकारितामा खेलकुदले अलग्गै पहिचान राखेको र यो खेल पत्रकारिता गर्न खेलकुदप्रति लगाव हुनुपर्छ भन्ने भनाई राख्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले समन्वयकारी भूमिका निर्वाह गर्दै खेलकुदको क्षेत्रलाई पत्रकारितामा जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष भरत शर्मा, प्रेस चौतारी नेपालका सचिव नारायण न्यौपाने, प्रेस सेन्टर नेपालका कार्यवाहक जिल्ला अध्यक्ष नवराज ज्ञवाली लगायतले खेलकुद पत्रकारिताका विषयमा धेरै पत्रकारलाई बुझाउनका लागि तालिमको आवश्यकता रहेको बताउनुभयो ।