• २५ वैशाख २०८१, मङ्गलबार

स्वास्थ्यमन्त्री बस्नेत नेतृत्वको टोली आज जेनेभा जाँदै

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं, जेठ ५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्री बस्नेतले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ७६ औँ महासभामा भाग लिन आजै राति जेनेभा प्रस्थान गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतको नेतृत्वमा अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटासहित ६ सदस्यीय टोली सहभागी हुने छन् । सम्मेलन यही मे २१ देखि ३० सम्म चल्ने छ ।

दुई दिन सम्मेलनलाई सम्बोधन गरेर आफू स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतका अनुसार सङ्गठनको नीति निर्धारण गर्ने, वित्तीय नीतिहरूको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने महासभाका मुख्य एजेण्डा रहेका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्र राष्ट्रका दाता तथा सम्बद्ध निकायहरूसँग भेटवार्ता गर्ने, नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवम् सुधारका आयामहरू बारे छलफल गर्ने मन्त्री बस्नेतको भनाइ छ ।

यसैगरी, मन्त्री बस्नेतले नेपालले विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकको उम्मेदवारी दिने हुँदा सो सम्बन्धी पनि पैरवी गर्ने जानकारी दिनुभयो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।