• २७ पुस २०८१, शनिबार

‘डाकिनी’ प्रदर्शन हुँदै

blog

काठमाडौँ (गोरखापत्र), जेठ ५ गते । चलचित्र ‘डाकिनी’ शुक्रबारदेखि केही चलचित्र भवनमा प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले व्यावसायिक प्रायोजनले भन्दा पनि हेर्न चाहने दर्शकका लागि लक्षित गर्दै चलचित्र सीमित चलचित्र भवनमा प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो । 

कोभिड–१९ का कारण पाँच वर्षपछि प्रदर्शन गर्न लागिएको चलचित्रमा खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) को लेखन र निर्देशन छ । चलचित्र ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ नाममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भइसकेको छ । चलचित्रको प्रदर्शनका लागि रिम्पोछे अमेरिकादेखि नेपाल आउँदै हुनुहुन्छ । 

त्यस्तै अर्का निर्माता रवीन्द्र सिंह बानियाँले ‘डाकिनी’ नेपाली स्वाद अनुसारको भएको खुलाउनुभयो । उहाँले समीक्षकहरूले ‘डाकिनी’ जस्तो चलचित्र बनाउनुपर्छ भन्ने सुझाव दिएपछि चलचित्र प्रदर्शन गर्न लागिएको उहाँको भनाइ थियो  । 

निर्देशक रिम्पोछेको यो पाँचौँ चलचित्र हो । सन् १९९९ मा उहाँले निर्देशन गरेको पहिलो चलचित्र ‘द कप’ कान्स चलचित्र महोत्सवमा देखाइएको थियो । चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आउनुभएकी तेन्जिङ कुन्सेलले अभिनय गर्नुभएको छ । त्यसैगरी दिव्यदेव, रवीन्द्र सिंह बानियाँलगायतका नेपाली कलाकारको अभिनय छ ।