दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ २ गते । नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाका ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा बक्यौता रकम करिब १० करोड रुपियाँ पुगेको छ ।
खानेपानी संस्थान वीरगञ्ज कार्यालयका प्रमुख निरक महर्जनका अनुसार उक्त कार्यालयका पाँच सय ४२ जना ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा कार्यालयमा बक्यौता करिब १० करोड रुपियाँ पुगेको हो ।
लामो समयदेखि संस्थानबाट वितरित खानेपानी उपयोग गरी हालसम्म खानेपानीको महसुल नतिर्नेमा ठूला व्यापारी, विभिन्न सङ्घसंस्था, अस्पताल, कलेज तथा मन्त्री र उच्च पद पुगीसकेका नेताहरूसमेत रहेको कार्यालय प्रमुख महर्जनले बताउनुभयो ।
उहाँले भन्नुभयो, "२०४६ सालदेखि हालसम्म खानेपानीको सेवा लिँदै आएका छन् तर खानेपानीको बिल तिरेका छैनन्, एकै जनाको पचास हजार - एक लाख रुपियाँभन्दा बढी बक्यौता छ । लामो समयदेखि बक्यौता तिर्न ताकेता गरी पत्र पटाउँदा समेत त्यस्ता ग्राहकहरू बिल तिर्न आउँदैनन् ।"
खानेपानी संस्थानको प्रधान कार्यालयबाट नीतिगत अनुरूप नै पत्र काटेर पठाउने गरेकाले आफूहरूले पनि सोही बमोजिम वीरगञ्जका ग्राहकहरूलाई पत्राचार गर्ने गरेको बताउँदै कार्यालय प्रमुख महर्जनले खानेपानीको महसुल नतिर्ने ग्राहकहरूलाई कानुनी प्रक्रिया अनुसार धाराको लाइन काटी दिने गरेको बताउनुभयो ।
केही सेवाग्राही बक्यौता रकम किस्ताबन्दीमानसमेत तिर्ने गरेको जनाउँदै उहाँले पटकपटकसम्म बक्यौता तिर्न खानेपानी संस्थानले पत्राचार गर्दा बेवास्ता गर्नेलाई अब कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिनुभयो । आगामी आर्थिक वर्षदेखि बक्यौता नतिर्ने ग्राहकहरूको धाराको लाइन काटिदिने अहिले पत्राचार गरिएको र जनशक्ति अभावले तत्काल लाइन काट्ने काम गर्न नसकिएको कार्यालय प्रमुख महर्जनले दाबी गर्नुभयो ।
"ठूला ठूला व्यक्तिहरू जसको बक्यौता छ उनीहरूले महसुल तिर्नेतर्फ ध्यानै दिइरहेको देखिँदैन र अहिले पानीको सतह घटेकाले दैनिक ५ देखि ७ वटा नयाँ धारा जडान गर्नुपर्ने भएकाले भएको जनशक्ति नयाँ धारा जडान कै काममा अल्झिएकाले लाइन नकाटिएको हो", उहाँले भन्नुभयो ।