विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस २ गते । सप्तरीमा बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ज्योति विकास बैंक लिमिटेडको क्लस्टर कार्यालय बर्दिवासबाट कर्जा असुली कार्यका लागि खटिएका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि कर्जा नतिरेको विषयलाई लिएर दुर्व्र्यवहार तथा कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तकोशी नगरपालिका वडा नम्बर ७ घर भएका ५२ वर्षीय संजिव कुमार चौधरी र अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ घर भएका ४७ वर्षीय उमाकान्त चौधरी रहनुभएको छ । प्रहरीका अनुसार शाखा कार्यालय रुपनीबाट कर्जा लिई समयमै भुक्तानी नगरेपछि बैंक कर्जा असुली प्रक्रियामा गएको थियो ।
सोही क्रममा गत मङ्सिर २४ गते दिउँसो करिब ३ बजेको समयमा कञ्चनपुर–फत्तेपुर सडक खण्ड स्थित बलारदह चौकमा बैंकका कर्मचारी सुनित र सविनलाई एक्कासी घेराहाली नियन्त्रणमा लिएर सप्तकोशी नगरपालिका ७ स्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.को परिसरमा लगेका थिए ।
त्यहाँ उहाँहरु माथि विपक्षीहरुले कालोमोसो दली, जुत्ताको माला लगाई फोटो तथा भिडियो बनाइएको, कुटपिट गरिएको तथा सुनितले लगाएको दस आना सुनको औँठी र सुनको सिक्री समेत लुटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँले घटनाबारे मङ्सिर २९ गते जाहेरी दरखास्त प्राप्त भएपछि दुवैजनालाई पक्राउ गरिएको बताउनुभयो ।
पक्राउ पर्नुभएका दुवैजना उपर अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय कञ्चनपुरले सप्तरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।