• २७ पुस २०८१, शनिबार

जग्गाको कित्ताकाट खुल्याे

blog

वालिङ नगरपालिकाको कार्यालय । तस्विर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, जेठ २ गते । स्याङ्जाको वालिङ नगरपालिकाले आंशिक रूपमा जग्गाको कित्ताकाट सुरु गरेको छ । राष्ट्रिय भू-उपयोग ऐन २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरू, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको वर्गीकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुन लागेको हो । 

वालिङ नगरपालिकाभित्रका ५ वटा वडाहरूमा कित्ताकाट सुरु भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "नगरपालिकाको केही वडामा आंशिक रूपमा जग्गाको कित्ताकाट सुरु गरेका हौँ, अन्य वडाको पनि क्रमशः खुला गर्दै जानेछौँ ।"

नगरपालिकाका वडा नं. ६, ८, ९, १० र १३ मा कित्ताकाट सुरु भएको हो । कित्ताकाट सुरु हुने वडाको जग्गा वर्गीकरण गरी सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाइसकिएको पालिकाले जनाएको छ । कित्ताकाट गरिएका वडाका नागरिकहरूले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल लालपुर्जा लिई मालपोत कार्यालयमा जान नगरपालिकाले अनुरोध गरेको छ ।

वालिङ नगरपालिकाले कृषि र गैह्र कृषि जग्गा सहित राष्ट्रिय भू—उपयोग ऐन २०७६ अनुसार छुट्याएर पठाएकोले अब कित्ताकाट सुरु हुने मालपोत कार्यालय वालिङका सूचना अधिकारी जीवनाथ पौडेलले जानकारी दिनुभयो । मापदण्ड पुगेर आएका जग्गाको काम हुने उहाँको भनाइ छ । 

नगरपालिकाले आंशिक रूपमा मात्रै कित्ताकाट सुरु गरेपछि नागरिकमा असन्तुष्ट देखिएको छ । १, २, ३, ४, ५, ७, ११, १२ र १४ नं. वडाहरूको कित्ताकाट भने केहीदिन पछि सुरु हुने नगर प्रमुख खाणले बताउनुभयो । नगरपालिकाले कित्ताकाट खुलाएका वडाहरू सिद्धार्थ राजमार्गले छोएको छ । राजमार्गले छोएका जग्गालाई घरबाटो कायम गर्न र गैह्र कृषियोग्य जमिन भन्न सजिलो भएकाले वर्गीकरणमा सहज भएको बताइएको छ ।    

लामोसमय जग्गाको कित्ताकाट रोकिँदा अंशवण्डादेखि जग्गाको लेनदेन र कारोबारमा समस्या हुँदै आएको थियो अब भने सहज हुँदै जाने छ प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।