• २७ पुस २०८१, शनिबार

रगत अभाव टार्न १७ वर्षदेखि नियमित त्रैमासिक रक्तदान

blog

१७ वर्षदेखि नियमित गर्दै आएको रक्तदानको ५६ औँ कार्यक्रममा रगत संकलन गरिँदै । तस्विर: सिराज खान । नेपालगञ्ज

सिराज खान

नेपालगञ्ज, जेठ २ गते । गत १७ वर्षदेखि नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके र जनमत अर्द्ध साप्ताहिक, नेपालगञ्जको संयुक्त आयोजनामा त्रैमासिक रक्तदान गरिँदै आएको छ । 

पश्चिम नेपालका गम्भीर अवस्थाका बिरामीलाई रगतको अभाव नहोस् भन्ने मुख्य उद्देश्यका साथ २०६३ सालदेखि हरेक तीन महिनामा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरेर रगत सङ्कलन गर्ने कार्य हुँदै आएको छ । 

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाहले गत १७ वर्षको अवधिमा तीन हजार प्रिन्ट भन्दा बढी रगत सङ्कलन गरेर बिरामीलाई प्रदान गरिएको बताउनुभयो । 

उहाँले यो अभियान कोरोना महामारीको समयमा पनि जारी राखिएको जनाउँदै बेला बेलामा बाँकेमा रगत अभाव भएर समस्या हुने गरेकाले सो समस्या टार्न नियमित रक्तदान गर्दै आएको बताउनुभयो । 

यसैबीच स्वयंसेवी रक्तदाता समाज बाँके र जनमत अर्द्ध साप्ताहिक, नेपालगञ्जको संयुक्त आयोजनामा गरिने त्रैमासिक रक्तदानको ५६ औँ कार्यक्रम सम्पन्न गरिएको छ । 

रक्त सञ्चार केन्द्र नेपालगञ्जका अनुसार सो रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गर्नुभएको छ । सो कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले, उद्योगपति चम्पालाल बोथरा, पत्रकारहरू झलक गैरे, शङ्कर प्रसाद खनाल, राकेश मिश्रलगायत ५१ जना स्वयमसेवीहरुले रक्तदान गर्नुभयो ।