• १० मंसिर २०८१, सोमबार

नेपाल न्यूज अस्ट्रेलियाको १० औं वार्षिकोत्सव

‘समाजको सही सूचना सम्प्रेषित गर्न डराउनु पर्दैन’

blog

कार्यक्रममा सहभागीहरू

सिड्नी, वैशाख ३० गते । अष्ट्रेलियामा क्रियाशील पत्रकारले समाजको यथार्थ सूचनालाई सही ढङ्गले सम्प्रेषित गरुी समाजलाई सुसूचित गर्ने कुरामा जोड दिएका छन ।

नेपाल न्युज अष्ट्रेलियाको १० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपालबाट कार्यक्रममा सहभागी हुन आएका वरिष्ठ पत्रकारले प्रवासको पत्रकारिताबारे चर्चा गर्नुभयो ।

गोरखापत्र संस्थानका प्रमुख कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले उच्च शिक्षा अध्ययन तथा कामका सिलसिलामा विभिन्न मुलुकमा पुगेका नेपाली सञ्चारकर्मीले प्रवासमा मात्र नभएर नेपाली मूलधारका मिडियामा समेत डायस्पोराका गतिविधिबारे समाचार सम्प्रेषण गर्दै आएको स्मरण गर्दै निरन्तरताको कामना गर्नुभयो । 

उहाँले नेपालमा पत्रकारिताको कखरा पढेका र कलम चलाएका नै यतिबेला प्रवासी नेपाली पत्रकारिताको आधार स्तम्भ भएको भन्दै सत्य तथ्य र समाजमा आधारित भएर पत्रकारितालाई निरन्तरता दिन सुझाव दिनुभयो । 

वरिष्ठ पत्रकार हरिबहादुर थापाले व्यावसायिक र मर्यादित पत्रकारितामार्फत समाजलाई सुसूचित पार्ने कुरामा यहाँ कार्यरत पत्रकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । 

प्रवासको पत्रकारितालाई लामो समयसम्म टिकाउन निकै मुस्किल हुने सन्दर्भमा नेपालन्युज अस्ट्रेलियाले आफ्नो दसौं वर्ष पूरा गरेको खुसी व्यक्त गर्दै थापाले सामाजिक दायित्वसमेत पूरा गरेको बताउनुभयो । 

उहाँले प्रवासको नेपाली समुदायलाई जोड्ने र स्थानीय गतिविधिलाई एक अर्काको पहुँचमा पुराउने काममा यहाँका सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यहाँका सञ्चारकर्मीलाई समाजले पनि सकारात्मक सहयोग गर्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो । 

‘नेपाली पत्रकारको आँखामा प्रवासी पत्रकारिता’ शीर्षकको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका प्रमुख कार्यकारी अध्यक्ष शमिरजंग शाहले बदलिएको सञ्चारकर्मलाई प्रवासका पत्रकारले आफ्नो मुल्य र मान्यतामा ध्यान दिएर पत्रकारिता गर्न सुझाव दिनुभयो । 

उहाँले व्यस्त जीवनबीच थोरै समय छुट्याएर पत्रकारितालाई जीवितै राख्नु गर्वको विषय भएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 


कार्यक्रममा रेडियो नेपालका चिफ रिपोर्टर प्रमोद दाहालले विभिन्न बाध्यता र परिस्थिति बिच विदेशिएका पत्रकारले प्रवासमा पनि राम्रो छाप छोडेको बताउँदै उहाँले यसलाई आगामी दिनमा निरन्तरता दिनुका साथै सामाजिक दायित्वसमेत निर्वा गर्न आग्रह गर्नुभयो । 

समाजका अगुवा इन्द्रा बनले नेपाली पत्रकारले समुदायोन्मुख पत्रकारिता गर्नुपर्ने भन्दै निरन्तरताको कामना गर्नुभयो । 

कार्यक्रममा नेपाल न्यूज अष्ट्रेलियाको १० वर्षे यात्रा र उतार चढावबारे हेमन्तराज काफ्लेले प्रकाश पार्नुभयो । उहाँले एकातिर हातमुख जोड्ने समस्याले अन्य काम गर्नुपर्ने बाध्यता रहेको भन्दै अर्कोतिर आफ्नो आत्मरतिको कारण नेपालमा गरिआएको पत्रकारितालाई छोड्न नसक्नुको प्रमाण नै नेपाल न्यूज अष्ट्रेलियाको १० औं वार्षिकोत्सव मनाउनु रहेको चर्चा गर्नुभयो ।

उहाँले जीविकोपार्जनका लागि अन्त्य काम गरेर हामीले थकाइ मार्ने समयलाई चाहिँ समाचार र कार्यक्रम निर्माण गर्न छुट्टयाएको भन्दै आगामी दिनमा कमी कमजोरीलाई सुधार गरेर अगाडि बढ्ने प्रण गर्नुभयो । 

यस्तै, नेपाल न्यूज अष्ट्रेलियाका सम्पादक कृष्ण तिवारीले स्वागत मन्तब्य राख्दै प्रवासको नेपाली पत्रकारिताबारे प्रकाश पार्नुभयो । 

कार्यक्रममा प्रधान सम्पादक माधव गैरेले प्रवासको पत्रकारिता सोचेजस्तो सहज र उपलब्धिमूलक हुन नसकेको भन्दै बचेको थोरै समयलाई उचित सदुपयोग गरेको जानकारी दिनुभयो । 

उहाँले प्रवासमा रहेका विभिन्न नेपाली समाज, समुदाय र सहयोगी मनका कारण आफ्नो प्यासनलाई निरन्तरता दिन सकेको भनाइ राख्नुभयो । 

कार्यक्रको दोस्रो सत्रमा प्रवासी नेपालीले नेपालको विकास निर्माणमा कसरी सहयोग गर्न सक्छन्, यहाँको लगानी नेपाल कसरी लैजान सकिनेछ भन्ने विषयमा अष्ट्रेलियामा लामो समयदेखि बस्दै आएका नेपाली मूलका अष्ट्रेलियन नागरिक ज्ञानेन्द्र कार्की (ग्यारी) ले ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’ अभियानको सुरूआतबारे आफ्नो भनाइ राख्नुभयो । 

उहाँले यो अभियान विदेशमा रहेका नेपालीलाई आफ्नो मातृभूमिसँग जोड्ने गतिलो माध्यम बन्ने दाबी गर्नुभयो । 

कार्कीले यो अभियानबाट विदेशमा रहेका नेपालीको लगानी नेपालमा हुनेछ र नेपाललाई समृद्ध बनाउन सघाउ पु¥याउने दाबी पनि गर्नुभयो । यो अभियानलाई विदेशी नागरिकको हैसियत बनाइसकेका नेपाली मूलका व्यक्तिहरूले कुन रूपमा लिएका छन, यो अभियान कस्तो हो अनि कसरी नेपालमा लगानी भित्राउन सकिन्छ भनेर एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष, युवा व्यवसायी अनिल पोखरेल र काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीसा)का अध्यक्ष विजय सापकोटाले आ–आफ्नो धारणा राख्नुभयो । 

गैर आवासीय नेपाली संघले नेपालमा लगानी भित्राउने, ज्ञान सिप र पुँजी परिचालन गर्ने काममा धेरै अगाडिदेखि चासो लिएको स्मरण गर्दै पोखरेलले यसका लागि नेपालको धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैक, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालयलगायतका निकाय बाधक बनेकाले पत्रकारहरूले यस विषयमा सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । 

यसरी विद्यार्थी बनेर अष्ट्रेलिया आएका केही नेपालीले परदेशमा सफल व्यवसायीको परिचय बनाइसकेको भन्दै सीसाका अध्यक्ष सापकोटाले विदेशी नागरिक भइसकेका नेपालीबाट सानोसानो पुँजीलाई जम्मा गरेर त्यसलाई नेपालमा लगानी भित्राउने विषयलाई पछिल्लो पुस्ताले सकारात्मक रूपमा लिएको बताउनुभयो । 

कार्यक्रममा ओएनएफका अध्यक्ष केशव जोशी, अष्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसिएसन (एन्जा) अध्यक्षः चिरिन्जिवी देवकोटे, जनसम्पर्क समितिका अध्यक्ष शुरेस गुरूङ, ब्लाकटाउन सिटी काउन्सिलका काउन्सिलर लिभिङ्स्टन चेट्टीपल्ली, (अर्बन होम्स) अर्बन होम्स, एनएसडब्लु, लाभिस कन्स्ट्रक्सन एण्ड डेभलपमेन्टका नितिन बात्रा र शक्तिदा बानियाँ, आइसिसी ओसिनिया रिजनल को–अर्डिनेटर दिनेशराज जोशी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङ,  कानुन व्यवसायी, एवं नेपाल न्यूज अष्ट्रेलियाका कानुनी सल्लाहकार शमशेर सिंह थापा, सम्बोधन गर्दै कार्यक्रमलाई शुभकामना दिनुभयो ।