• १६ चैत २०८०, शुक्रबार

सुरु भयो सगरमाथा आरोहण

blog

काठमाडौँ, वैशाख ३१ गते । यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका एक जना फोटोग्राफर र नौ जना शेर्पा दक्ष कामदार (आइसफल डाक्टर) ले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाएर आरोहण सुरु गरेका हुन् । 

नेपाल पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनबाट बाटो बनाउने काममा खटिएका शेर्पाको टोलीले शनिबार सगरमाथा शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न गरेर सगरमाथा आरोहणको सुरुवात गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नौ जना शेर्पा आरोहीको टोली शुक्रबार राति सगरमाथाको चौथो शिविरमाथिको बाटो खुलाउने काममा खटिएको थियो । सो टोलीले आरोहण खुला गरेसँगै आरोहणको पर्खाइमा रहेका सयौँ आरोही चौथो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।”

उहाँले आरोही शेर्पाहरूलाई चुचुरोसम्मको बाटो निर्माणमा आधार शिविरबाट इमाजिन नेपालका प्रबन्ध निर्देशक एवं चर्चित आरोही मिङ्मा शेर्पाले संयोजन गर्नुभएको जानकारी दिनुभयो । रोलवालिङ दोलखाका दावा ग्याल्जे शेर्पाको नेतृत्वमा खटिएको शेर्पा आरोहीको टोलीमा थामे सोलुखुम्बुका ङिमा निरु शेर्पा, लाक्पा शेर्पा, फुर गेल्जेन शेर्पा, लाक्पातेन्जिङ शेर्पा, दावाजाङ्बु शेर्पा, सङ्खुवासभाका दिपेन गुरुङ, फोर्चे सोलुखुम्बका पासाङ ङिमा शेर्पा र गोरखाका सुमन गुरुङ हुनुहुन्छ ।  इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले बाटो खुलेसँगै आइतबार बिहान ७ देखि १० बजेको बिचमा पहिलो आरोहण टोली सगरमाथामा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोहीहरू चुचुरोतर्फ लागेको बताउँदै उहाँले वैशाख ३१ देखि जेठ ६ गतेसम्म आरोहणका लागि उपयुक्त मौसम रहेकाले धेरै आरोही चुचुरोमा पुग्नसक्ने बताउनुभयो । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ । यस वर्ष सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । 

पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका ४४ आरोही समूहका ४६७ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएका थिए । 

कोरोना महामारीका कारण सन् २०२० मा कुनै मानव पाइला सगरमाथामा पुगेको थिएनन् । यसअघि सन् २०१९ मा ३१५ जनाले आरोहण अनुमति लिएका थिए । सगरमाथा आरोहण अनुमति शुल्कबाट सरकारलाई यो वर्ष ६५ करोड ५९ लाख दुई हजार २१९ रुपियाँ हिमाली दस्तुर प्राप्त भएको । आगामी जेठ १५ गते सगरमाथा आरोहणको अन्तिम दिन भएकाले यस पटक छोटो समयमा धेरै आरोही आरोहणको प्रतीक्षामा रहेका छन् । आरोहणको अवधि थोरै र आरोही धेरै रहेकाले यस पटक सगरमाथामा ट्राफिक जाम हुनसक्ने सम्भावनासमेत उत्तिकै छ ।  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।