रेखीराम राना
पाल्पा, वैशाख ३० गते । राष्ट्रिय पुरुष ‘वीच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९, २१–१५ को सोझो सेटमा हरायो । अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८, २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भयो ।
विजेता बनेको आर्मीले एक लाख ५० हजार रुपियाँ प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले एक लाख रुपियाँमा चित्त बुझायो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपियाँ प्राप्त ग¥यो । आर्मीलाई उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
वैशाख २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरी पाँच प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी नौँ टोली सहभागी भएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई वीच भलिबलको हब बनाउने उद्येश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथी प्रदेश सभासदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गर्नुभयो । खेलकुदमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्येश्य का साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गरेको अध्यक्ष मास्केले बताउनुभयो ।