• १२ मंसिर २०८१, बुधबार

सबै थारुलाई सिकलसेल परीक्षण गराउन सुझाव

blog

बातचित घरमा सिकलसेल रोगकाबारेमा कुराकानी गरिदैं । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

वैशाख ३० गते । थारु समुदायका सबैले वङ्शाणुगत रोग सिकलसेल एनिमियाको परीक्षण गराउनुपर्ने चिकित्सकको जोड रहेको छ । यो समुदायमा बढी मात्रामा देखा परिरहेको सिकलसेल रोग रोकथामको लागि सबैले यो रोगको परीक्षण गराउनु पर्ने सुझाव दिइएको हो । 

हमार फाउण्डेसनको आयोजनामा धनगढीस्थित बातचित घरमा आयोजित सिकलसेल सम्बन्धि कार्यक्रममा सेती प्रादेशिक अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरीले थारु समुदायका हरेक व्यक्तिले सिकलसेल परीक्षण गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले सिकलसेल भएका दम्पत्तीहरुले सन्तानको योजना बनाउँदा जेनेटिक काउन्सेलिङका साथै र प्रि नेटल जाँच गराउनु पर्ने औंल्याउनुभयो । 

पछिल्लो समय स्थानीय तहलगायत विभिन्न निकायले निःशुल्क शिविर आयोजना गरेर सिकलसेल थाहा पाउनका लागि  ‘सिक्लिङ्ग टेस्ट’ गर्ने गरेका छन् । सिकलसेल एनिमिया रोग रहेको पुष्टि गर्न भने सेती प्रादेशिक अस्पतालमामात्रै परीक्षणको व्यवस्था रहेको छ । पहिले यो सेवा निःशुल्क दिइए पनि पछिल्लो समय एक हजार रुपियाँ शुल्क लिने गरिएको छ । यसैगरी, सिकलसेल रोगीहरुले थप स्वास्थ्य समस्या बढ्न नदिनका लागि पोषिलो खानपानमा ध्यान दिनु पर्ने, नियमित रगत जाँच गराउनु पर्ने औंल्याइएको छ । सिकलसेल जनस्वास्थ्य समस्याको रुपमा देखा परेपछि यो रोगका बिरामीहरुलाई नेपाल सरकारले एक लाख रुपियाँ बराबरको उपचार सहुलित दिदैंआएको छ । 

सरकारले निःशुल्क उपचारका लागि एक लाख रुपियाँ बराबरको उपचार सहुलियत दिएपछि बिरामीहरुलाई धेरै राहत भएको डा. चौधरीले बताउनुभयो । यद्यपि, कतिपय बिरामीको उपचारको लागि यो रकम पर्याप्त नरहेको उहाँको भनाइ छ । 

“केही बिरामीहरु हप्तापिच्छे अस्पताल भर्ना हुनुपर्ने, नियमित रगत जाँचदेखि लिएर अन्य उपचार गराउनु पर्ने हुन्छ”, उहाँले थप्नुभयो, “त्यस्तो अवस्थामा उनीहरुको उपचारका लागि यो रकम अपुग नै हुन्छ ।”

सिकलसेल रोगलाई निको पार्ने अहिलेसम्म कुनै पनि औषधोपचार पत्ता लागिसकेको छैन । तर, बोनम्यारो प्रत्यारोपण गरेर समस्याबाट छुटकारा पाउन सकिने जनाइएको छ । यसका लागि नेपालमा पाँचदेखि आठ लाख रुपियाँसम्म खर्च हुने गरेको डा. चौधरीले बताउनुभयो । “बोनम्यारो प्रत्यारोपण सबैभन्दा सस्तोमा नेपालमै हुन्छ”, उहाँले भन्नुभयो, “अन्य देशमा यो निकै खर्चिलो छ ।” बोनम्यारो प्रत्यारोपण गर्नेहरुलाई पनि सरकारले एक लाख रुपियाँ उपचार सहुलियत दिनेगरेको उहाँले उल्लेख गर्नुभयो । 

सिकलसेल बिरामीहरु पटक–पटक बिरामी भइरहने, उपचार गराउँदा पनि निको नहुने कारणले उनीहरुमा मानसिक समस्या पनि बढ्ने गरेको जनाइएको छ । फलस्वरुप, बिरामीहरुले आत्महत्या पनि गर्नेगरेको सिकलसेल नेपाल कैलालीका अध्यक्ष सुरेश कठरियाले बताउनुभयो । 

उहाँका अनुसार कैलालीमा एक हजार जति सिकलसेल एनिमियाका बिरामीहरु रहेका छन् । जसमध्ये करिब छ सय जनाले नेपाल सरकारले दिने एक लाख रुपियाँ सहुलियतमा सूचीकृत स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन् । 

जिल्लाको थारु बहुल कैलारी गाउँपालिकाले सिकलसेल बिरामी पत्ता लगाउनका लागि हरेक वर्ष स्क्रिनिङ टेस्ट गर्दैआएको जनाइएको छ । यसैगरी, बिरामीहरुलाई गाडी भाडा खर्च र निःशुल्क रगत पनि उपलब्ध गराउने गरेको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताउनुभयो । कार्यक्रममा १०१ पटक रगतदान गर्ने रक्तदाता दीपक उपाध्याय नेपाललाई सम्मान गरिएको छ ।