• १२ पुस २०८१, शुक्रबार

तराईमा तातो हावा, जनजीवन प्रभावित

blog

जनार्जन खत्री

सर्लाही, वैशाख २९ गते । सर्लाहीसहित तराईका जिल्लामा चर्को घाम र तातो हावाले जनजीवन अत्यन्त प्रभावित बनेको छ । यहाँ एक सातादेखि अत्यधिक मात्रामा गर्मी बढ्दा जनजीवन कष्टकर बनेको हो । 

चर्को घाम र तातो हावाका कारण घरबाहिर निस्कनसमेत मुस्किल परेको स्थानीय बताउँछन् । रातदिन पङ्खाको सहारामा बस्नुपर्ने बाध्यता छ । गर्मीमा कारण रातदिन असिनापसिना हुनुपरेको लालबन्दी नगरपालिका–२, पुर्नवासका शक्ति पासवानले बताउनुभयो । 

चर्को घाम र तातो हावा चल्ने मध्यान्मा सडकबजार सुनसान देखिन्छ । गर्मीले दैनिकी नै प्रभावित बनेको पासवानले गुनासो गर्नुभयो । दैनिक मजदुरीमा निस्कनुपर्ने मजदुर र किसानलाई गर्मीले बढी प्रभाव पारेको छ भने विद्यालय जाने बालबालिका पनि प्रभावित भएका छन् ।

यस्तै, यहाँ चिसोपेय पदार्थ, तरबुजाजस्ता चिसो हुने खानेकुराको व्यापार बढेको छ । गर्मीसँगै हुलाकी र अन्य कच्ची सडकमा धुलोको सास्ती रहेको कौडेना गाउँपालिकास्थित फूलपरासीका मनोज यादवले बताउनुभयो । गर्मी छल्न पोखरी तथा नहरमा नुहाउन पुग्नेहरुको संङ्ख्यासमेत बढेको छ ।  

यस क्षेत्रमा एक साताअघि केही दिन सामान्य झरी पर्दा गर्मी कम भएको थियो । 

अत्यधिक गर्मी र तातो हावाका कारण मानिस बिरामी पर्न थालेका छन् । प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले गर्मीजन्य सङ्क्रमणका बिरामी बढेको बताउनुभयो । उहाँका अनुसार झाडापखाला, अपज, टाइफाइड, ज्वरो, रुखाखोकी, घाँटीदुख्ने जस्ता गर्मीजन्य सङ्क्रमणका बिरामी बढेका हुन्।

डाक्टर झाले यो मौसममा पर्याप्त पानी पिउन र काम विशेषबाहेक चर्को घाम र तातो हावा चलेका बेला घरबाहिर ननिस्कन सुझाव दिनुभएको छ । 

सर्लाहीमा गएको वर्ष असोजदेखि जमिन भिज्ने गरी पर्याप्त वर्षा हुन सकेको छैन । पानी नपर्दा यस क्षेत्रमा धुलो–धुँवाको प्रदूषणसमेत बढेको छ ।