काठमाडौं, वैशाख २७ गते । नेकपा (एमाले) का नेता भीम रावलले मनोरञ्जन जनताको अधिकार रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नरम शक्तिका रूपमा चलचित्र, साहित्य र कलालगायत रहेको बताउनुभयो ।
“चलचित्र सफ्ट पावरको महत्त्वपूर्ण अङ्ग हो । अन्य देशमा चलचित्रको माध्यमबाट धारणा निर्माण हुने गरेको छ । हामी कहाँ चलचित्र प्रदर्शनमै सास्ती भोगेको सुनिन्छ । यस्तो हुनु सफ्ट पावरलाई समाप्त पार्नु हो”, नेता रावलले भन्नुभयो, “साहित्य, चलचित्रले देशको जिम्मेवार व्यक्तिलाई सजग गराउने हो । यस्ता चलचित्रलाई राज्यले सघाउनु पर्छ ।”
चलचित्रका निर्माता तथा निर्देशक नबल खड्काले सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने सन्दर्भ चलचित्रमार्फत उठान गरेको बताउनुभयो । “हामीलाई सहयोग गर्ने विषयमा नै सास्ती भोगिरहेका छौँ । पछि हट्दैनौँ बरु अदालत जान्छौँ”, उहाँले भन्नुभयो ।
चलचित्रमा निर्देशक खड्कासँगै सुरविना कार्की, गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बू, पुष्पा श्रेष्ठ, रवि शाह लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
निर्माणमा असफल र निर्देशनमा सफल भए : निर्देशक रिनाशा राई राणा
नृत्य निर्देशक हुँदै चलचित्र निर्देशक बन्नुभएकी रिनाशा राई राणा निर्देशित पहिलो चलचित्र ‘इन्टू मिन्टू लन्डनमा’ व्यावसायिक रूपमा सफल भयो । यद्यपि उहाँ निर्देशित दोस्रो चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को व्यापार निकै न्यून छ । गत वैशाख २१ देखि प्रदर्शनरत चलचित्र व्यावसायिक रूपमा असफल भएको निर्देशक राणाले नै अन्तर्वार्तामा स्वीकार गर्नुभएको छ ।
“चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ । यद्यपि व्यापारिक रूपमा सफल हुन् सकेका छैनौँ । तर दर्शककै सिफारिसमा चलचित्र भवनमा भीड बढ्ने विश्वास छ”, निर्देशक राणाले भन्नुभयो । उहाँ चलचित्रभन्दा बाहिरको मान्छेबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहँदा दर्शकको उपस्थिति नहुँदा आश्चर्य चकित हुनुहुन्छ । उहाँले पहिलो चलचित्रले व्यापारिक रूपमा मुनाफा दिएता पनि निर्देशकलाई सन्तुष्ट पार्ने दोस्रो चलचित्र रहेको बताउनुभयो । यद्यपि ‘ज्याकी : आई एम ट्वान्टी वान’ समीक्षा पनि राम्रो पाएको छैन । “चलचित्र आइरहेको भन्दा फरक छ । दर्शकलाई नयाँपन मन पर्छ भन्नेमा विश्वस्त थियौँ । अहिले समय ठीक भएन कि भन्ने पनि लागिरहेको छ”, निर्देशक राणाले भन्नुभयो । चलचित्रमा आफ्नो पात्रका लागि कलाकारद्वय धिरज मगर र जसिता गुरुङले दुई वर्ष नृत्यको प्रशिक्षण लिनुभयो ।
“चलचित्र भवनमा आइपुग्नुभएका दर्शकले मेहनत बुझ्नुभएको छ । यद्यपि दर्शकको भीड नदेखिँदा दुःख भने लागेको छ”, अभिनेता मगरले भन्नुभयो । यद्यपि उहाँ नेपालको नृत्यमा आधारित चलचित्रका रूपमा परिचित भएकामा सन्तुष्ट हुनुहुन्छ ।
अभिनेत्री गुरुङले नयाँ विषयलाई दर्शकसम्म पुर्याउँदा यस्तो भएको हुन् सक्ने बताउनुभयो । “एउटा पात्रलाई जीवन्त बनाउन हामीले गरेको मेहनत हेर्न दर्शक नआउँदा दुःख त लागेको छ । नेपाली चलचित्रमै परम्परागतभन्दा फरक रहेको यो निर्माण भएको छ”, अभिनेत्री गुरुङले भन्नुभयो । चलचित्रमा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डङ्गोल, राजु भुजु, सुजता राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ । रासस