• १९ असार २०८२, बिहिबार

सञ्चालनमा आएन चम्पुजा पार्क

blog

सञ्चालनमा आउन नसकेको चम्पुजा पार्क । तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, असार १९ गते । दोलखाको भीमेश्वर नगरपालिका–२ मा रहेको चम्पुजा पार्क सञ्चालनमा आउन सकेको छैन । एक करोड छ लाख रुपियाँमा निर्माण गरिएको पार्क सञ्चालनमा आउन नसकेकोमा स्थानीयले चासो व्यक्त गरेका छन् । सहरी विकास तथा पूर्वाधार कार्यालयको ४० लाख, लागत सहभागितामा समुदायको ३३ लाख र नगरको ३३ लाख गरी कुल एक करोड छ लाख रुपियाँमा निर्माण गरिएको हो । 

चम्पुजा उद्यानले सबैलाई आकर्षित गरिरहेको छ । भीमेश्वर मन्दिर दर्शनका लागि दोलखा बजार पुग्नेहरू पार्कमा गएर बस्ने गर्छन् । चरीकोट बजारबाट करिब २० मिनेटको यात्रापछि दोलखा बजार पुगिन्छ । भीमेश्वर मन्दिरबाट केही तल पार्क रहेको छ । मन्दिरदेखि पार्कसम्म ओरालो भएकाले खुट्किलासहितको पक्की पैदल बाटो निर्माण गरिएको छ । बाटोमा दुवैतर्फ फलामे रेलिङ छन् । रेलिङमा लहरै घण्टा झुन्ड्याइएको छ । उक्त बाटो हुँदै गएपछि केहीबेरमै आकर्षक प्रवेशद्वार पाहुनाको स्वागतमा खडा छ तर आगन्तुक सोचे जस्तो नहुँदा करोडौँको लगानी खेर गइरहेको छ ।

पार्कमा फूलबारी, बालबालिकाका लागि खेल सामग्री र पार्कको बिच भागमा सानो पोखरीमा शिवजीको मूर्ति प्रतिस्थापन गरिएको छ । पार्कमा सुविधासम्पन्न पिकनिक स्थल, शौचालय, खानेपानी आदिको पनि सुविधा उपलब्ध छ । चम्पुजा पार्कलाई व्यवस्थित र संरक्षण गर्ने कार्यमा स्थानीय सरकारले ध्यान दिन नसक्दा यसको प्रचारप्रसार हुन सकेको छैन । वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले सुविधासम्पन्न पार्क सञ्चालन गर्न सञ्चालकको खोजी भइरहेको जानकारी दिनुभयो । सुरुमा वार्षिक ३० हजार रुपियाँ भाडा तोकिए पनि घटाएर १० हजारमा झार्दासमेत सञ्चालक पाइएको छैन ।