राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई पत्रकार महासङ्घको एक प्रतिनिधिमण्डल बधाई दिन शीतल निवास पुगेको थियो । बधाई ग्रहण गर्दैगर्दा उहाँले एउटा महìवपूर्ण कुरा भन्नुभयो–समय समयमा समाजमा विभिन्नखाले अफवाह फैलने गर्दछन्, त्यस्तो बेला पत्रकारिताले ती अफवाहलाई चिर्दै सत्य र तथ्यसङ्गत कुरा जनताका माझमा राख्न सक्दछ ।
राष्ट्रपति पौडेलले भनेको यो कुरालाई पत्रकारिताका अध्येता तथा विद्वान्हरूले पनि फरक भाषामा पटक पटक भन्दै आएका छन् । कोरोनाकालमा वरिष्ठ पत्रकार तथा पत्रकारिता विषयका प्राध्यापक रामकृष्ण रेग्मीले महामारीको समयमा सही सूचना जनतामा नपुग्दा र अफवाह फैलाइँदा त्यो अर्को ठुला महामारी हुने बताउनु भएको थियो ।
कोरोनाकालमा पत्रकार महासङ्घले एउटा वक्तव्य निकाल्दै भनेको थियो– पत्रकारिताको सबैभन्दा ठुलो क्षमता अफवाह नियन्त्रण गर्ने हो । यतिबेला फैलने कुनै पनि अफवाहले कोरोना संक्रमणभन्दा
झनै ठुला भयावह अवस्था सिर्जना गर्न सक्दछ । त्यसैले अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्न र पुष्टि भएका एवं तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गरेर कोरोनाविरुद्धको लडाइँमा योगदान पुर्याउनका लागि समस्तमा नेपाल पत्रकार महासङ्घ हार्दिक अपिल गर्दछ ।
यी सन्दर्भहरूले के सन्देश दिन्छन् भने, विभिन्न कालखण्डमा अफवाह फैलने गर्दछन् । त्यो अफवाहलाई चिर्न र सत्य कुरा स्थापित गर्न सञ्चार क्षेत्रले महìवपूर्ण भूमिका खेल्न सक्छ र खेल्नु पनि पर्दछ ।
पछिल्लो समयमा इन्टरनेट प्लेटफर्ममा नागरिकको सहज पहुँच विस्तार हुँदै गएको छ । सो प्लेटफर्ममार्फत आफूलाई अभिव्यक्त गर्ने विभिन्न माध्यम बनेका छन् । युुुट्युब, फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटकजस्ता माध्यमले नागरिकलाई हर समय आफूलाई अभिव्यक्त गर्न सक्ने बनाइदिएको छ । अघिल्लो पुस्ताले २-४ कप चियाको चुस्की लिँदै चियापसल वा चौतारामा बसेर गर्ने संवादमा आफूलाई अभिव्यक्त गर्दै आनन्दानुभूति गर्दथ्यो भने अहिलेको पुस्ता इलोक्ट्रोनिक डिभाइसमा आफ्नै कोठाबाट आफूलाई सम्पूर्ण रूपमा अभिव्यक्त गर्न सक्षम बन्दै छ । मानव जातिका लागि यो समयले दिएको ठुलो उपहार हो । यो उपहारको उच्चतम अभ्यास गर्न ऊ स्वतन्त्र छ । उपहारलाई इज्जतका साथ ग्रहण गर्ने, त्यसलाई उपयोग गर्ने वा सजाएर राख्ने हाम्रो संस्कार हो । त्यसैगरी नै समयले दिएको प्रविधिको यो उपहारलाई पनि इज्जतका साथ ग्रहण गर्दै त्यसको सदुपयोग गर्न योजना बनाउने कुरालाई नयाँ पुस्ताले पनि एउटा संस्कारका रूपमा ग्रहण गर्न जरुरी छ ।
समाजमा लगातार अफवाह फैलँदै गर्दा त्यसलाई चिर्ने र सही तथ्यका आधारमा नागरिकलाई सही सूचना दिने दायित्व पत्रकारिताको हो । त्यसैले पत्रकारिताको सबैभन्दा ठुलो धर्म अफवाह नियन्त्रण गर्ने क्षमतालाई लिने गरिन्छ ।
अघिल्लो पुस्ताले चियापसल वा चौतारामा गर्ने संवादले कहिलेकाहीँ असत्य कुरालाई पनि हो हो झैँ बनाइदिन्थ्यो । रे रेका भरमा हुँदै नभएको कुराले समाजलाई तरङ्गित गराइदिन्थ्यो । त्यसैको एउटा उदाहरणका रूपमा हामीले बहुचर्चित हृतिक रोशन प्रकरणलाई लिन सक्छौँ । अप्रमाणित र अपुष्ट सूचनाका भरमा त्यो बेला मानवीय तथा ठुलो भौतिक क्षतिसमेत हुनपग्यो । सानातिना घटना थुप्रै भए, यसो स्मरण गर्ने हो भने आफ्नो गाउँठाउँका त्यस्ता अफवाहले तरङ्गित गराएका घटना पाठकले आफैँ पनि सम्झन सक्नुहुन्छ होला ।
इन्टरनेट प्लेटफर्ममार्फत आफूलाई अभिव्यक्त गर्दा त्यसले एकै पटक ठुला सङ्ख्याका नागरिकको ध्यानाकर्षण गर्न सक्छ । एउटा व्यक्तिले राखेको निजी विचारलाई अर्को व्यक्तिले फरक ढङ्गले बुझ्न सक्छ । फरक बुझाइका आधारमा त्यहाँ द्वन्द्व बढ्दै जान्छ अनि दुई पक्ष निर्माण भएर गाली गलौज गर्ने र आफ्नो कुरालाई जबरजस्त सत्य देखाउन अर्कालाई झुट साबित गर्न खोज्ने अवस्था आउँछ । त्यो बेलासम्म इन्टरनेट प्लेटफर्म प्रयोग गर्ने समुदाय दुई कित्तामा विभाजित हुन्छ । ती बहसले अनावश्यक र अप्रमाणित कुरा निम्त्याउँछन् । त्यसैका आधारमा जनमत निर्माण हुँदै जान्छ । त्यसरी निर्मित मतले सत्यताको पुस्ट्याइँ गर्न आवश्यक ठान्दैन, अनि अफवाह फैलन्छ । व्यक्तिको चरित्र हत्या गर्ने, कुनै निकायप्रति गलत भाष्य स्थापित गर्ने, सूचनाको तथ्य परीक्षण गर्ने कुरामा ध्यानै नदिई एकोहोरो प्रवाह गर्ने, व्यक्तिको देवत्वकरण गर्नेजस्ता सवाल अफवाहका रूपमा एकोहोरो ढङ्गले प्रवाहित हुन्छ । त्यस्तो प्रवाहका क्रममा कसैले फरक धारणा राख्यो भने त्यसलाई अपराधी नै साबित गर्ने प्रपञ्च हुन्छ ।
अहिले त्यसैगरी अफवाह फैलने र त्यसले नै जनमत निर्धारण गर्ने खतरा र प्रवृत्ति देखा पर्दैछ । प्रविधिको विकास र विकसित प्रविधिको अभ्यास हुँदै गर्दा यस्तो हुनु त्यति धेरै अस्वाभाविक पनि नठानिएला तर त्यसको कसरी अभ्यास गरिँदै छ भन्ने कुरामा ध्यान दिने र त्यसमाथि बहस थाल्न भने विलम्ब गर्नुहुन्न । यसरी ध्यान दिने र अभ्यासको तरिका माथि बहस गर्ने सानो समूह भए पनि कालान्तरमा त्यो बहसले एउटा राम्रो शिक्षा दिनसक्छ र अफवाह फैलाउने कुरामा मानिसलाई सचेत बन्न प्रेरित गर्नसक्छ । त्यसकारण त्यस्ता बहस जरुरी हुन्छ ।
समाजमा लगातार अफवाह फैलँदै गर्दा त्यसलाई चिर्ने र सही तथ्यका आधारमा नागरिकलाई सही सूचना दिने दायित्व पत्रकारिता क्षेत्रको हुन्छ । त्यसैले पत्रकारिताको सबैभन्दा ठुला धर्म अफवाह नियन्त्रण गर्ने क्षमतालाई लिने गरिन्छ । नेपाली पत्रकारिताले यतिबेला त्यस्ता अफवाहका विरुद्ध आफूलाई निर्भीकताका साथ प्रस्तुत गर्न जरुरी छ । यो क्रममा पत्रकारितामाथि पनि आव्रmमण हुनसक्छ । अहिले सामाजिक सञ्जालमा पत्रकारितामाथि जथाभावी भन्ने लेख्ने अभ्यास पनि प्रशस्तै देखिएको छ । पत्रकारिता क्षेत्रलाई आफूमाथिको त्यो आरोपलाई वेवास्ता गर्दै आफ्नो दायित्व निर्वाहको पथमा हिँड्न पर्दछ । सत्य र तथ्यको खोजी गर्दै अफवाह होइन, सत्य बुझाँै भन्ने मान्यताका साथ आफूलाई थप सव्रिmय बनाउन जरुरी हुन्छ ।
त्यसो त सञ्चार क्षत्रले सधैँ नै सत्य तथ्यको प्रवाह गर्नुपर्ने हुन्छ । यस्तो बेलामा आफ्ना उपभोक्ताको ध्यान खिच्न र थप विश्वसनीयता आर्जन गर्न थप मिहिनतका साथ सामग्री प्रस्तुत गर्न आवश्यक पर्दछ । पत्रकारिता अध्ययनका क्रममा पढाइने गरिन्छ कि, जुन कुरा सहज प्राप्त भएका हुन्छन्, विज्ञापन हुन्छ, जुन कुरा दबाएर राख्न खोजिएको हुन्छ त्यो कुरा समाचार हुन्छ । समाजलाई अफवाहबाट जोगाउने क्रममा यस्तै दबाएर राखिएका विषयलाई उजागर गर्दै ध्यानाकर्षण गर्ने र सत्य स्थापित गर्दै अगाडि बढ्ने हो भने अफवाह आफैँ निरुत्साहित हुँदै जान्छ र समाजको सूचना प्रणाली आफैँ बलियो हुँदै जान्छ । यसका लागि पत्रकारिता बलियो र निर्भीक बन्न सक्नु पर्छ ।
पत्रकारिता निर्भीक बन्दै जाँदा त्यसको लाभ राज्य भनौँ वा सरकारले पनि लिन सक्दो रहेछ भन्ने कुराको उदाहरण भर्खरै नेपाली पत्रकारिताले स्थापित गरिदिएको छ । दबाएर राखिएका भ्रष्टाचारका फाइल खोल्न सरकारलाई सघाइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणले त सरकारलाई लोकप्रिय पनि बन्ने र देशका लागि महìवपूर्ण काम गर्ने एउटा अवसर नै उपलब्ध गराई दिएको छ । आफ्नो प्राथमिकता निर्धारण गर्न अलमल गर्दै गरेको सरकारलाई पत्रकारिताले उजागर गरेका बेथितिका घटनाले आफ्नो कामको मेसो दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा प्रारम्भ भएको अनुसन्धानलाई न्यायिक निरूपणको तहसम्म पुर्याउन सरकारले हिम्मत गर्यो भने त्यो सरकारका लागि ठुलो उपलब्धि हुने छ र नागरिकमा नयाँ विश्वास र आशाको सञ्चार हुने छ ।
यो घटना त उदाहरण मात्र हो । मिडियाले समय समयमा सरकार वा समाजका लागि एजेन्डा नै तय गरिदिन सक्छ । ती एजेन्डाको औचित्यताका आधारमा सम्बोधन गर्न सहज पनि हुन्छ तर यस्ता एजेन्डा विशेष नियतका साथ आएका छन् कि ? भनेर परीक्षण भने गर्नै पर्ने हुन्छ । सरकार कमजोर हुँदा, नागरिक समाज कमजोर हुँदा उनीहरूले आफ्नो कामको प्राथमिकीकरण गर्न सक्दैनन् र एजेन्डाको खोजी गरिरहेका हुन्छन् । त्यो बेला पत्रकारिता उनीहरूका लागि ठुलो सहयोगी बन्न सक्छ । अहिले त्यस्तै अवस्था पनि देखिएको छ ।
पत्रकारिताको निर्भीकतापूर्ण उपस्थिति र तथ्य उजागर गर्ने शैलीले आफूप्रतिको विश्वसनीयता अभिवृद्धि हुन्छ । त्यसले निर्माण गरेको जगमा उभिएर अफवाहका विरुद्धमा उभिन सम्भव पनि हुन्छ । समाजमा जबरजस्त फैलाइएका आफवाहका विरुद्धमा उभिन अरू क्षेत्रले सहज हिम्मत गर्दैनन्, बरु त्यही अफवाहमा लागेर लोकप्रियताको अपेक्षा राख्दछन् तर त्यसका विपक्षमा उभिएर सत्य स्थापित गर्ने सामथ्र्य पत्रकारिताले राख्छ । आज यस्तै पत्रकारिताको आवश्यकता बोध हुन गएको छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष हुनुहुन्छ ।