• १६ असार २०८२, सोमबार

क्षतिग्रस्त बेलिब्रिज खोल्ने काम अन्तिम चरणमा

blog

मेची राजमार्ग स्थित हेंवा खोलामा जोड्दा जोेड्दै भाँचिएको बेलिब्रिज खुस्काउदै श्रमिक । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, असार १६ गते ।
जडान कार्य नससकिँदै भाँचिएर क्षतिग्रस्त बनेको मेची राजमार्गको पाँचथर खण्डस्थित हेंवा खोलाको बेलिब्रिज खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।

जेठ ३१ गते जडानकै क्रममा यहाँ निर्माणाधिन बेलिब्रिज भाँचिएको थियो । जुन घटनामा तीन जना श्रमिकको ज्यान जानका साथै अन्य तीनजना घाइते भएका थिए ।

पुलको २० प्रतिशत भागमा क्षति पुगेको थियो । यसैबिच पुल पुनः जडानका लागि सडक डिभिजन इलामले प्राविधिकसहित क्रेन र स्काबेटरको सहयोग लिएर काम अगाडि बढाएको हो ।

पुल खोल्ने काम ९० प्रतिशत सम्पन्न भएको र बाँकी काम बुधबार भित्रमा सक्नेगरी काम भइरहेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । हेंवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएको थियो ।

त्यसपछि यहाँ लगाइएको बेलिब्रिज पुनः गत असोज १२ गते बाढीले बगाएपछि तेस्रो पटक जोड्न थालिएको बेलिब्रिज काम सकिने बेलामा भाँचिएपछि मेची राजमार्गको यो क्षेत्र पुलविहीन छ । पानी नपर्दा डाइभर्सनमार्फत गाडी वारपार हुने भए पनि पानी पर्नासाथ खोला बढेर डाइभर्सन ढाक्ने गरेकाले यो क्षेत्रको यात्रा कष्टकर हुने गरेको छ । क्षतिग्रस्त पुल हटाएरपछि पुनः यहि ठाउँ मा बेलिब्रिज जडान गर्ने योजना सडक डिभिजन इलामकोे छ ।