यामराज बिष्ट
पञ्चकोशी (दैलेख), असार १६ गते । दैलेखमा ३४ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विकास कार्यालय अनुसार जिल्लामा ३४ प्रतिशत रोपाइँ सकिएको हो ।
यो वर्ष मनसुन छिट्टै भित्रिएको पानीको सुविधा भएकाले यसवर्ष रोपाइँ चाडै सुरु भएको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरत पाण्डेले बताउनुभयो ।
जिल्लामा करिब सात हजार नौ सय २५ हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाइँ हुने गरेको उहाँले बताउनुभयो ।
विगतका वर्षहरुमा असार १७ सम्म २८ प्रतिशत रोपाइँ हुने गरेको भए पनि यो वर्ष जेठ महिनादेखि नै पानी परेका कारण किसानहरुले समयमै धान रोपाइँ सुरु गरेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ । विगतका वर्षहरुमा भन्दा यो वर्ष ६ प्रतिशत बढी रोपाइँ सकिएको कार्यालय जनाएको छ ।
यस्तै उत्पादनत्व वृद्धि गर्नमा सरकारले किसान र कृषि उत्पादन केन्द्रित नीति बनाउनु पर्ने नारायण नगरपालिका दैलेखका कृषि अधिकृत खेमराज शर्माले बताउनुभयो । उहाँले उत्पादनले बढाउन राज्यले लगानीमा जोेड दिनुपर्ने बताउनुभयो ।