• ११ मंसिर २०८१, मङ्गलबार

चोरीपैठारीका लत्ताकपडा बरामद

blog

सशस्त्र प्रहरीले बरामद गरेको चोरीपैठारीका लत्ताकपडा । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं, वैशाख २६ गते । सशस्त्र प्रहरीले सर्लाही र गौरबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले सर्लाही जिल्लाको पर्सा गाउँपालिका–६ स्थित सीमा इलाकाबाट दुई लाख ८८ हजार रुपियाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो । अवैध लत्ताकपडा ल्याउने व्यक्ति सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडी फरार भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले बरामद गरेको हो ।

यसैगरी, रौतहटको गौर नगरपालिका–२ स्थित गौर बजार इलाकाबाट पनि एक लाख ७५ हजार ६९० रुपियाँ बराबरको स्टेशनरी, लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामानको बिलबिजक नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (विओपी गौर)ले उक्त सामान बरामद गरेको हो ।  सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले उक्त सामान आवश्यक कारबाहीका लागि मलगंवा र गौर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।