• १२ साउन २०८१, शनिबार

भारत पाकिस्तान विवादले एसिया कप क्रिकेट अन्योलमा

blog

काठमाडौं, वैशाख २६ गते । भारत र पाकिस्तानको विवादका कारण एसिया कप क्रिकेट प्रतियोगिता अन्योलमा परेको छ ।

पाकिस्तानमा आगामी सेप्टेम्बरमा आयोजना तय भएको एसिया कपमा भारतले पाकिस्तान गएर नखेल्ने बताएपछि प्रतियोगिता अन्योलमा परेको हो ।

यस पटक एसिया कपमा छनोट भएको नेपालका लागि पुनः खेल्न नपाउने हो की भन्ने चिन्ता बढेको छ । भारत र पाकिस्तान आन्तरिक विवादका कारण यसअघि सन् २००२ को एसिया कपमा छनोट भएर पनि नेपालले खेल्न पाएको थिएन ।

भारत पाकिस्तान विवादले त्यतिबेला एसिया कप रद्द भएको थियो । त्यतिबेला सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा पुगेको थियो । 

नेपाललाई यसपटक पुरानै नियति दोहोरिएला भन्ने चिन्ता छ । भारतीय समाचार संस्थाहरूले एसिया कप पाकिस्तानको सट्टा श्रीलङ्कामा हुन सक्ने समाचार बाहिर ल्याएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय शाहले आयोजना स्थल सार्ने अवस्था आउन सक्ने बताउनुभएको छ ।

भारतीय टोली सीमा कटेर पाकिस्तान नजाने बताएपछि नयाँ स्थलको परिकल्पना गरिएको शाहको भनाई छ । शाह एसीसीका समेत अध्यक्ष हुनुहुन्छ । पाकिस्तानले भने आयोजना स्थल सार्न नहुने माग गर्दै आएको छ । पाकिस्तानले भारत र पाकिस्तानको खेल बरु न्युटल भेन्यु दुबईमा खेलाउन प्रस्ताव गरेको छ ।

एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’  मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 

नेपालले हालै घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको हो । एसिया कपमा विश्वकै उत्कृष्ट टोली भारत र पाकिस्तानसँग खेल्न पाउनु नेपालका लागि ठूलो अवसर हो । 

विवादबीच एसिया कप आयोजना स्थलको टुङ्गो यसै महिनाको अन्तिमसम्म लाग्ने पनि भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् । एजेन्सी