• १२ असोज २०८१, शनिबार

चराविद् डङ्गौरालाई राष्ट्रिय युवा प्रतिभा सम्मान

blog

चराविद कैलालीका हिरुलाल डङ्गौरा थारु । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख २५ गते । अढाई दशकदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील हुनुहुन्छ । 

जीवनको पूरै समय संरक्षणमा बितिरहेको उहाँले बताउनुभयो । सम्मानका लागि नेपाल सरकारले आफूलाई छनोट गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँ नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन) मा कार्यरत हुनुहुन्छ । 

डङ्गौराले सुदूरपश्चिम प्रदेशमा दुर्लभ गिद्ध, खरमजुर, सुनौलो तोप चराको हरेक वर्ष अनुगमन गर्दै आउनुभएको छ । यसैगरी, नेपालको प्रथम चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्र, बसन्ता करीडोर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा नियमित चरा अनुगमन तथा संरक्षणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रमसमेत गर्दै आउनुभएको छ । 

स्कुल पढ्ने बेलादेखि डङ्गौरा कैलालीका संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेली बाजे) सँगै गुलेली सङ्कलन अभियानमा संलग्न हुनुभएको थियो । डल्फिन संरक्षण क्षेत्रमासमेत अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएका डङ्गौराले २०१० मा अब्राहम संरक्षण पुरस्कार र २०१२ मा वातावरण संरक्षण पुरस्कार प्राप्त गर्नुभएको थियो ।