• ७ पुस २०८१, आइतबार

पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन आवश्यक : मन्त्री शर्मा

blog

मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले वैदेशिक मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारको बारेमा तयार गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख २५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

उहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताउनुभयो ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले वैदेशिक मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारको बारेमा तयार गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पत्रकारितामा महिलाहरुको प्रवेशलाई प्राठथमिकता दिनुपर्ने र उनीहरु सम्मानजनकरुपमा पेशामा टिकिरहने बनाउन आम सञ्चार क्षेत्र गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका साढे १३ हजार सदस्यमध्ये  दुई हजार चार सय मात्रै महिला देखिएको भन्दै उहाँले १८ प्रतिशतको हाराहारीमा रहेका महिला पत्रकारको संख्यालाई न्यूनतम ३३ प्रतिशत बनाउनतिर लाग्नुपर्ने बताउनुुभयो ।


महिलालाई पत्रकारितामा टिकाइराख्न उनीहरुको दक्षता बृद्धि, वृत्ति विकास, सञ्चारमाध्यमको सम्पादकीय भूमिकामा उचित स्थान र समाचार कक्षमा महिलामैत्री वातावरण बनाउन सञ्चारमाध्यमहरुले ध्यान दिनुपर्नेमा मन्त्री शर्माले जोड दिनुुभयो । 

सरकार समग्र पत्रकारिता क्षेत्रको विकास र त्यसमा महिला सहभागिता बृद्धिका लागि गम्भीर रहेको उल्लेख गर्दै उहाँले पत्रकारितामा प्रवेश गर्न चाहनेहरुका लागि आवश्यक तालिम र प्रवेश गरिसकेकाहरुका लागि निरन्तर क्षमता वृद्धिका आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।

‘‘त्यसमा महिलाका लागि छुट्टै के व्यवस्था गर्न सकिन्छ, विज्ञ साथीहरुबाट पनि आवश्यक सुझावका लागि आग्रह गर्दछु । यस्ता सिर्जनात्मक कामका लागि निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग पनि सरकार सहकार्य गर्न चाहन्छ । यसका साथै हरेक सञ्चारमाध्यमहरुले आन्तरिक क्षमता बृद्धिका कार्यक्रम सञ्चालन गर्ने र त्यसमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके पत्रकारिता क्षेत्रमा महिला सहभागिता बृद्धि गर्न र उनीहरुलाई टिकाइरहन सजिलो हुनसक्छ’’– उहाँले भन्नुुभयो । 

आम सञ्चारको क्षेत्रमा महिला सहभागिता वृद्धिका लागि योजना बनाउन म्यागले तयार गरेको प्रतिवेदन पनि महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले यसबाट नीति निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

मूलधारका सञ्चारमाध्यममा वीट निर्धारण गर्दा महिलालाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने, महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने, लैङ्गिक उत्तरदायी मिडिया नीतिको निर्माण गर्नुपर्नेलागयतका सुझावहरु महत्वपूर्ण रहेको औल्याउँदै मन्त्री शर्माले भन्नुभयो– ‘‘यीमध्ये सरकारको दायित्वभित्र रहेका काम सरकारले गर्नेछ भने आम सञ्चारका माध्यमहरुलाई पनि यसप्रकारका नीति बनाउन र कार्यान्वयन गर्न प्रोत्साहन गरिने छ ।’’

 त्यस्तै, नेपालका लागि अमेरिकी राजदूत डिआर थम्सनले पत्रकारिता धेरै जनताले विश्वास गर्न सक्ने हुनुपर्ने बताउनुभयो । “यस्ता अध्ययन प्रतिवेदनमा कसरी अध्ययन गरिएको छ र अध्ययनका क्रममा कस्ता प्रक्रिया अपनाइएका छन् भन्ने कुराहरू महत्वपूर्ण हुन्छन् । पत्रकारिता धेरै जनताले विश्वास गर्न सक्ने हुनुपर्छ । यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रयास रहन्छ”, राजदूत थम्सनले भन्नुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अध्ययन प्रतिवेदनले पत्रकार महिलाको विगत संलग्नताको पृष्ठभूमि ल्याएको बताउनुभयो । उहाँले रिपोर्टमा आएका कुराहरूलाई सन्तोष मान्दै आवश्यक सुधार गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सत्य कुरा स्थापित हुँदा मिडिया प्रभावकारी हुने र सत्य कुरा स्थापित गर्दै मिडियाको विश्वसनीयता कायम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले लैङ्गिक समावेशी र प्रभावकारी हुँदा सरकारले सुशासन कायम गर्न सक्ने बताउनुभयो ।     

नेपाली टाइम्सका सम्पादक कुन्दन दीक्षितले मिडिया मात्रै हैन राज्यका सबै क्षेत्रमा लैङ्गिक असन्तुलन रहेको बताउनुभयो । उहाँले विदेशी मामिला रिपोर्टिङ भूराजनीतिक रिपोर्टिङ मात्रै नभएको बताउँदै महिलाहरुको सहभागिता बढ्दा पेसाप्रति राम्रो सन्देश जाने बताउनुभयो ।     

अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण गर्नुहुँदै म्यागकी कार्यकारी निर्देशक बबिता बस्नेतले आठ सयजना पत्रकार महिलाहरूमध्ये पाँच सयजना सहभागी महिलाहरूले राखेको धारणाका आधारमा २३ दशमलव ९ प्रतिशत सामाजिक बिटमा, १९ दशमलव ५ प्रतिशत लैङ्गिक तथा महिला, १३ प्रतिशत ३ प्रतिशत राजनीति र ६ दशमलव ६ प्रतिशत महिलाहरू परराष्ट्र मामिला क्षेत्रमा रिपोर्टिङमा क्रियाशील रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।     

मिडिया एडभोकेसी ग्रुपकी अध्यक्ष अनिता विन्दुले लैङ्गिक उत्तरदायी कानुन बनाउनका लागि जोड दिन राज्य पक्षलाई घच्घच्याउन आफूहरू क्रियाशील रहने बताउनुभयो ।