• १० मंसिर २०८१, सोमबार

विस्तारित सेवा अर्थतन्त्र

blog

मूलभूत रूपमा अर्थतन्त्रका तीनवटा क्षेत्र छन्–कृषि, उद्योग र सेवा । यी तीन क्षेत्रले अर्थतन्त्रका तीन आयाम समेट्छन् । भूमिमा आधारित कृषि परम्परागत अर्थतन्त्रको आधार थियो र अझै छ । औद्योगिकीकरणले कृषि अर्थतन्त्रको अधिक श्रम शक्ति प्रयोग गरेर नयाँ अर्थतन्त्रको आधार सिर्जना ग-यो । अठारौँ शताब्दीको औद्योगिक क्रान्तिले औद्योगिक अर्थतन्त्रको निर्माणलाई तीव्रता दियो । औद्योगिकीकरणसँगै बैङ्क, वित्त, बिमा, पर्यटन आदिको उदय भयो र त्यसले सेवा अर्थतन्त्रका जग बसाल्यो, विस्तार ग-यो । सूचना र प्रविधिको विकासले सेवा क्षेत्रको अर्थतन्त्र अहिले विश्वभर व्यापक बनेको छ । सेवा अर्थतन्त्र बलियो हुँदा व्यापक रोजगारी सिर्जना हुन्छ भने राष्ट्रिय उत्पादनमा समेत बढोत्तरी आउँछ । कतिपय सेवा क्षेत्रले विदेशी मुद्रा आर्जनमा समेत सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । नेपालका निम्ति पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण सेवा क्षेत्रका रूपमा विकसित हुँदै छ ।

सुखद कुरा, होटललगायतको पर्यटकीय सेवा निर्यातबापत नेपालले पहिलो पटक नौ महिनामै दुई खर्ब रुपियाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्क अनुसार मुलुकको सेवा निर्यात चालु मूल्यमा दुई खर्ब दुई अर्ब ९७ करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ । पर्यटन क्षेत्रमा आएको सुधारका कारण होटल सेवालगायत बिक्री गरेर नेपालले यो आर्जन गरेको हो । बाह्य पर्यटक नेपाल आउँदा उनीहरूले विदेशी मुद्रा सँगै लिएर आउँछन् । नेपाल सरहदभित्र उनीहरूले नेपाली रुपियाँ साटेर खर्च गर्छन् । त्यो विदेशी मुद्रा हाम्रो केन्द्रीय ढुकुटीमा बस्छ । यो नौ महिनामा दुई खर्ब रुपियाँभन्दा बढी आर्जन हुनु सेवा क्षेत्रको अर्थतन्त्र फराकिलो बन्दै गएको शुभ सङ्केत हो ।

सन् २०१९ को अन्त्यदेखि नै चीनको वुहानमा उत्पन्न भएको कोभिड–१९ ले विश्व पर्यटन उद्योगलाई तहसनहस पारेको थियो । पर्यटन वर्ष मनाउँदै सन् २०२० मा २० लाख पर्यटक ल्याउने नेपाली सपना आरम्भमै कोभिडले चकनाचुनर पारेको थियो । झन्डै तीन वर्ष थलिएको पर्यटन क्षेत्र गत वर्षदेखि बिस्तारै बौरिन थालेको हो । नेपालमा बाह्य पर्यटकको आगमन बढ्दै गएकाले पर्यटन गतिविधि विस्तार हुन थालेको छ । यो सिजनमा सगरमाथा क्षेत्रको पदयात्रामा बढोत्तरी आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार २०७९ साउनदेखि २०८० वैशाख मध्यसम्म साढे छ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा डेढ लाखभन्दा बढी पर्यटक नेपाल आएका हुन् । पर्यटन आगमनसँगै विप्रेषणमा मात्र निर्भर विदेशी मुद्राको स्रोतले केही हदसम्म पर्यटकीय सेवा निर्यातबाट भरथेग पाएको छ ।

सेवा क्षेत्रमा पर्यटकीय क्षेत्रको सुधार हुँदै गए पनि वस्तु निर्यात भने अझै पनि सन्तोषजनक हुन सकेको छैन । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा वस्तु निर्यात भने एक खर्ब ८२ अर्ब १३ करोड रुपियाँ हाराहारीमा छ । यो निर्यातले हाम्रो वार्षिक खर्बौं रुपियाँको आयात धान्न सक्ने छैन । नेपालले वार्षिक रूपमा साढे दुई खर्ब रुपियाँको त पेट्रोलियम पदार्थ मात्र आयात गर्दै आएको छ । वस्तु निर्यात गरेर आएको आम्दानीले पेट्रोलियम आयातसमेत धान्न कठिन देखिएको छ । त्यसैले विदेशी मुद्रा आर्जनका निम्ति वस्तु निर्यातसँगै पर्यटनलगायतको सेवा क्षेत्रलाई विस्तार गरिनु आवश्यक भएको छ । 

सेवा क्षेत्रको कुरा गर्दा सूचना प्रविधिको क्षेत्रमा ठूलो सम्भावना देखिएको छ तर नेपालले यो महत्वपूर्ण क्षेत्र अझै राम्ररी चिन्न सकेको छैन । नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा बाह्य कम्पनीको काम गर्ने सेवा क्षेत्रको आकार व्यापक हुँदै गएको अनौपचारिक जानकारी छ तर नेपालमै त्यस्तो सेवाप्रदायक कम्पनी खडा गर्न नीतिगत र कानुनी समस्या रहेको छ । ‘आउटसोर्स’ नामले परिचित यस खालको सेवा प्रदान गर्ने संस्थागत संरचना देशभित्रै बनाउनु आवश्यक छ । दक्षिणपूर्वी एसियाको सानो मुलुक सिङ्गापुर सेवा क्षेत्रको व्यवसायबाट सम्पन्न मुुलुक बन्न सफल भएको छ तर नेपालले व्यापक सम्भावना भएको यो क्षेत्रलाई राष्ट्रिय आयको आधार बनाउन सकेको छैन । विशेष गरी अनौपचारिक क्षेत्रबाटै यो क्षेत्रको आम्दानी भइरहेको छ । कतिपय कम्पनीहरूले सीमित बैङ्किङ च्यानल प्रयोग गरे पनि सूचना प्रविधि आउटसोर्सबाट भएको आम्दानीको राष्ट्रिय लेखा राख्न सकिएको छैन । नयाँ बजेटको गृहकार्य हुन लाग्दा सेवा अर्थतन्त्रको सम्भावनाको पहिचान गरिनु वाञ्छनीय छ ।