• ८ वैशाख २०८१, शनिबार

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

blog

पोखरा समाचारदाता

पोखरा, वैशाख २४ गते । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकार किरण खरेल सम्मानित हुनुभएको छ । नेपाली राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको योगदानको कदर गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले उहाँको नाममा राष्ट्रिय सङ्गीत कोष स्थापना गरी पहिलो पटक खरेललाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि दुई लाख रुपियाँ र कदरपत्र रहेको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरामा शनिबार आयोजित कार्यक्रममा खरेललाई पुरस्कार प्रदान गर्दै स्रष्टाको सम्मान नै लोकको सम्मान रहेको बताउनुभयो । ८५ वर्षीय गीतकार खरेलले १९ वर्षकै उमेरबाट सङ्गीत क्षेत्रमा लाग्नुभएको थियो । उहाँका चार गीतिसङ्ग्रह प्रकाशित रहेका छन् । फिल्म ‘माइतीघर’को ‘यो हो मेरो प्राणभन्दा प्यारो’ गीतका रचयिता किरणले सयभन्दा बढी फिल्ममा गीत लेखिसक्नुभएको छ ।

‘नमान लाज यसरी’, ‘वनमा फुल्यो फूलैफूल’, ‘जिन्दगीलाई जित होइन हारले स्वागत गरी’, ‘लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा’, ‘कसले चो-यो मेरो मन’, ‘मन्दिरमा छ कि मूर्तिमा माया’, ‘हिमालको काखमा छ सानो मेरो गाउँ’लगायत गीत उहाँले नै लेख्नुभएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले अक्षयकोषमा हाल १८ लाख रुपियाँ जम्मा भइसकेको जानकारी दिनुभयो । सो कोषबाट प्रदान गरिने पुरस्कार नेपाली सङ्गीत क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार भएको आयोजकको दाबी छ । सोही कार्यक्रममा ‘ए दूरका सितारा’ सङ्ग्रह पनि विमोचन भएको छ । साहित्यकार सरुभक्त र किरणले परम्परागत गीति लेखनको मानक भत्काएको बताउनुभयो । गीतमा आधुनिकताको प्रयोगको सुरुवात खरेलबाट सुरु भएको उहाँको भनाइ थियो ।