• २३ पुस २०८१, मङ्गलबार

अढाई दशकपछि कालोपत्रे गर्न सुरु

blog

दोलखा समाचारदाता

दोलखा, वैशाख २३ गते । दोलखाको सैलुङ गाउँपालिकामा रहेको मुडे–देउराली–बाघखोर सडक निर्माण सुरु भएको साढे दुई दशकपछि कालोपत्रे हुन थालेको छ। सडक ट्र्याक खोलेर गाडी चल्न थालेको २२ वर्षपछि यो सडक कालोपत्रे गर्न थालिएको हो। 

करिब ३० करोड रुपियाँमा कालोपत्रेसहितको निर्माणको जिम्मा लिएको महालक्ष्मी–शुभकामना–कञ्चनजङ्घा जेभीले सडक स्तरोन्नतिको काम सकेर पहिलो चरणमा डेढ किलोमिटर कालोपत्रे गर्न सुरु गरेको छ। पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले आगामी असारसम्ममा नौ किलोमिटर सडक कालोपत्रे गरिसक्ने गरी काम गरिरहेको बताउनुभयो। 

२०५५ सालमा तत्कालीन जिल्ला विकास समितिअन्तर्गत विश्व खाद्य कार्यक्रमको सहयोगमा सडक खन्न थालिएको थियो। २०५७ देखि बाघखोर बजारसम्म बस चल्न थालेको थियो। २०६० सम्म भैँसेसम्मको सडक बनिसकेको हो। त्यसपछि पनि तत्कालीन जिविस र त्यस क्षेत्रका गाविसले सडकको सोलिङ र नालीका लागि बर्सेनि लाखौँ खर्च गरे। तर सडकमा ठूलाठूला खाल्डाखुल्डी र हिलोका कारण गाडी चल्न नसक्ने भएपछि स्थानीयको आक्रोश राजनीतिक पार्टी र नेतामाथि रहेको थियो। डिभिजन सडक कार्यालय चरीकोटबाट १० वर्षअघि मुडेदेखि डेढ किलोमिटर कालोपत्रे भएको थियो। त्यसपछि २०७० मा थप विस्तारका लागि डिभिजन सडक कार्यालय चरीकोटबाट ठेक्का लाग्यो। ठेकेदारले केही ठाउँमा डोजर लगाएर भत्कायो तर व्यवस्थित गरेन। दुई वर्षमा पूरा गर्नुपर्ने काम ठेकेदारले नै काम गर्न नसकेपछि २०७५ सालमा ठेक्का तोडियो। 

मुडे–ढुङ्गेसम्म १६ किलोमिटर कालोपत्रे गर्ने बागमती प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले ठेक्का लगायो। गत असारमा पूरा गर्नुपर्ने काम कोरोना महामारीको निहुँमा एक वर्ष म्याद त थपियो तर सडकको अवस्था झन् जीर्ण बनेको थियो। मुडेदेखि बाघखोर बजारसम्मको आठ किलोमिटर सडक जोखिमपूर्ण छ। मुडे–मेलुङ सडकले चिनिएको यो सडकको बाघखोर बजारबाटै सैलुङ, रामेछापको दोरम्बा, चरीकोट, भैँसे हुँदै मेलुङ सित्तलीसम्म जोडिन्छ। यो सैलुङ र मेलुङ गाउँपालिकाको ‘लाइफलाइन’ पनि हो। 

सैलुङ महाभारत क्षेत्रको सबभन्दा उच्च क्षेत्र हो। प्राकृतिक सौन्दर्यका लागि महत्वपूर्ण पर्यटकीय क्षेत्र पनि हो। सडककै कारण पर्यटक यहाँ आउन सकेका थिएनन्। यस क्षेत्रमा पर्याप्त मात्रमा आलु र तरकारी उत्पादन हुन्छ। सहज ढुवानी हुन नसक्दा ढुवानी खर्च महँगो हुन पुगेको थियो। अब भने ढुवानी सहज हुने देखिएको छ।