• २३ पुस २०८१, मङ्गलबार

डाङ्ग्रे सारौंको ‘ब्रिडिङ’ सिजन सुरु

blog

धनगढीमा विद्युत तारमा गुँड बनाउँदै डाङ्ग्रे सारौं । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख २२ गते । हाम्रै घर वरिपरि पाइने डाङ्ग्रे सारौं चराको यतिबेला ‘ब्रिडिङ सिजन’ (प्रजनन समय) चलिरहेको छ ।  परिवार वृद्धिका लागि यी प्रजातिका चरा अहिले मानव बस्ती नजिकका रुख, विद्युतको पोल, गुज्जमुज्ज भएको तार लगायत स्थानमा गुँड बनाइरहेका छन् । डाङ्ग्रे सारौं गाउँघरमा पाइने सामान्य अवस्थाका चरा प्रजाति हुन ।


यो प्रजातिका चरा विशेषगरी तराईमा गाउँघर, वन, खेतमा पाइने गर्छन् । यद्यपि, धेरै भित्र वनमा भने डाङ्ग्रे सारौं नबस्ने गरेको चराविद हिरुलाल डङ्गौराको भनाइ छ । डाङ्ग्रे सारौंले एक सिजनमा तीन–चार वटा बच्चा कोरल्ने गर्छन् । विशेषगरेर खेतीपातीमा हुने किरा, फट्याङ्ग्रा यो प्रजातिका चराको आहारा हो । खेतीपातीमा नोक्सान गर्ने किरा, फ्टयाङ्ग्रा खाएर डाङ्ग्रे सारौंले अप्रत्यक्ष रुपमा किसानलाई सहयोग गर्नेगरेको छ ।  


अज्ञानताका कारण गाउँघरमा किसानलेसमेत यी सहित विभिन्न चराको शिकार गर्ने गर्दछन् । यसैगरी, ‘इलेक्ट्रो कोलिजन’ यो प्रजातिका लागि मुख्य समस्या रहेको डङ्गौराको भनाइ छ । विद्युत पोल र तारमा गुँड बनाउने गरेका कारण कहिलेकाँही करेन्ट लागेर चराहरु मर्नेगरेको उहाँले बताउनुभयो । 

बसन्त ऋतु धेरै प्रजातिका चराहरुको ब्रिडिङ सिजन हो । यो बेला डाङ्ग्रे सारौंसहित आली चुइयाँ, भारद्वाज, मयुँर, सानो गट्टे बट्टाई, मैना, सुगालगायतका चरा बच्चा कोरल्ने गर्छन् ।