• १६ चैत २०८०, शुक्रबार

६ दिनपछि नेपालगञ्ज–हुम्ला हवाई उडान सुचारु

blog

पहाडी जिल्लामा उडान गर्ने नेपालगञ्ज विमानस्थल । तस्बिर: सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, वैशाख २२ गते । निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ । 

गत शनिबार रातिदेखि वर्षाका कारण मौसम खराब हुँदा नेपालगञ्जबाट त्यहाँका लागि हुने हवाई सेवा अवरुद्ध भएको थियो । 

शुक्रबार मौसम खुलेपछि पुनः हवाई उडान शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्जले जनाएको छ । 

नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्जका प्रमुख सुरेश खनालले गत शनिबारबाट मौसममा आएको खराबीले गर्दा दुर्गम पहाडी जिल्लाहरु हुम्ला र मुगुमा उडान बन्द रहेकोमा शुक्रबारबाट हुम्लाको उडान सुचारु भए पनि मुगुको रारामा अझै सुचारु हुन नसकेको बताउनुभयो । 

उहाँले शुक्रबारबाट हुम्लाका लागि समिट एअरले उडान सुचारु गरेपछि नेपालगञ्जमा अलपत्र परेका यात्रुहरु गन्तव्यतर्फ जान थालेको र उताबाट पनि यात्रु यता आउन थालेको बताउनुभयो । 

६ दिनसम्म हवाई उडान नहुँदा करिब दुई सय यात्रु नेपालगञ्जमा अलपत्र परेका थिए । ती मध्ये केही शुक्रबार उडेका छन् भने अरु क्रमशः उड्दै जाने बताइएको छ । 

उडान नहुँदा विशेष गरी उपचारका लागि नेपालगञ्ज आउने विरामीलाई समस्या हुने गरेकोमा उडान सुचारु भएपछि विरामीलाई सहज भएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जले जनाएको छ ।