• १३ मंसिर २०८१, बिहिबार

दाइजो प्रथा नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरमा कार्यदल गठन

blog

दाइजो प्रथा रोक्न छलफल गर्ने उद्देश्यले आयोजना गरिएको बैठक । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, वैशाख २२ गते ।
बाँकेको नेपालगञ्ज उपमहानगरमा दाइजो प्रथा बढ्दै गएपछि सो रोक्न कार्यदल गठन गरिएको छ । दाइजो प्रथाकै कारण गरिब र विपन्नका छोरीहरुको विवाहमा समस्या भएकाले यसको अवस्थाबारे अध्ययन गरेर सुझाव प्रस्तुत गर्न नेपालगञ्ज उपमहानगरपालिकाले कार्यदल गठन गरेको हो ।

नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईको संयोजकत्वमा विभिन्न सरोकारवालालाई समावेश गरेर दाइजो प्रथा नियन्त्रणका लागि कार्यदल गठन गरिएको उपमहानगरले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत मञ्जु पाण्डेले दाइजो प्रथा नियन्त्रणका लागि उपप्रमुख राईको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको जनाउँदै सो कार्यदलले भावी कार्ययोजना बनाउने बताउनुभयो ।

महिला विकास अधिकृत पाण्डेका अनुसार पालिकाभित्र रहेका विशेष गरी मधेशी र मुस्लिम समुदायमा व्याप्त रहेको दाइजो प्रथा न्यूनीकरण गर्न आगामी नगरसभाबाट नीति बनाएर पारित गरिने छ ।

उपप्रमुख राईको संयोजकत्वमा गठन गरिएको कार्यदलमा कार्यपालिका सदस्य बसन्त कनौजिया, वडा नम्बर १३ का वडा अध्यक्ष सुरेशसिंह ठाकुर, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, वडा नम्बर ५ का वडा अध्यक्ष सराफत अलि खान, उपमहानगरका प्रेस सल्लाहकार नवीन गिरी, पत्रकारहरु मो.आरिफ अन्सारी र भिष्म लोध, लेखक शाहिदा शाह, अधिवक्ता विश्वजित तिवारी, फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्दिकी, शिक्षिका कृष्णादेवी पाण्डे सदस्य रहनु भएको छ ।

सो कार्यदलको सदस्य सचिवमा उपमहानगरपालिकाका महिला विकास अधिकृत मञ्जु पाण्डे रहनु भएको छ । फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्दिकीले दाइजो प्रथा रोक्न स्थानीय सरकारले कार्यदल बनाएरै अगाडि बढ्नु निकै सराहनीय कदम रहेको जनाउनुदै यसबाट सो प्रथा रोक्न सहयोग पुग्ने बताउनुभयो ।