• २१ वैशाख २०८१, शुक्रबार

निसमालोचना सिद्धान्त प्रयोग मेरो अध्ययनमा

blog

वर्तमान परिवेशमा साहित्यको कुनै पनि विधालाई सहजताका साथ परिभाषित गर्नु धेरै अप्ठ्यारो छ । किनभने जति जति समय बित्दै गयो त्यति त्यति हरेक क्षेत्रमा नयाँ नयाँ पुस्ताले नयाँ नयाँ विकासको गति लिँदै गएको देखिन्छ । त्यसैले पहिला पहिला निबन्ध मात्र भनिन्थ्यो पछि प्रबन्ध भन्न थालियो, निबन्धका पनि थप्रै प्रकार देखिन थाले । जस्तै–निबन्ध प्रबन्ध, नियात्रा, यात्रा संस्मरण भनेजस्तै पहिला हामी समालोचना, आलोचना भन्ने गथ्र्यौं । अहिले अब निसमालोचना भन्न थाल्यौँ । उपयुक्त सबैमा धैरै होइन अलि अलि मात्र मित्रता होलान् तर पनि नामकरण अलग अलग गर्न थालियो । यो परिवर्तनशील समयको माग पनि हो ।

सामान्य तया निबन्ध प्रायः आत्मपरक हुन्छ भने समालोचना वस्तुपरक हुन्छ । निबन्ध आफँैमा अत्यन्त स्वच्छन्द विधा हो, जसमा लेखकले आफ्नो इच्छाअनुसार विषयको उडान भर्न सक्तछ तर समालोचना विषयको विस्तृत व्याख्या र निष्कर्षको ढाँचामा रहेर लेखिन्छ । अनि समालोचनामा राम्रा गुण, दोष दुवै नियालिन्छ । निबन्ध प्रथमपुरुष शैलीमा लेखिन्छ भने समालोचना तृतीयपुरुष शैलीमा लेखिन्छ । यसमा कुनै पद्धतिलाई अवलम्बन गरिँदैन । यो अत्यन्त स्वतन्त्र रूपमा लेखिने सिर्जनात्मक विधा हो । लेखक जति व्यक्तिन चाहन्छ उति व्यक्तिन सक्तछ । त्यसैले होला भावना र कल्पनाका अथाह धनी महाकवि देवकोटा निबन्ध विधालाई आफ्नो प्रिय विधा मान्दथे । निबन्ध विधाको तुलनामा समालोचना विधाको आफ्नै नियम कानुन हुन्छन् । त्यही नियमभित्र अटाएर समालोचना गर्नुपर्छ ।

समालोचक डा. एकनारायण पौडेलको निसमालोचनामा लेखक निबन्ध, प्रबन्ध, समालोचनामा गहिरो रूपमा डुबेको देखिन्छ । त्यसैले प्रस्तुत कृतिमा पाठकलाई कहीँ पनि संशय गर्ने ठाउँ नदिईकन केलाई केलाई हरेक विधालाई प्रष्ट रूपमा प्रस्तुत गर्न सफल देखिन्छन् । निबन्ध के हो ? प्रबन्ध के हो ? समालोचना के हो ? निबन्धात्मक समालोचना के हो ? समालोचनात्मक निबन्ध के हो ? अनि केलाई निसमालोचना भन्ने र किन भन्ने निसमालोचनाको अर्थ के हो ? भन्ने कुरालाई स्पष्ट रूपमा प्रष्ट्याएको देखिन्छ । लेखक निसमालोचनालाई समालोचनाकै एक प्रकार मान्छन् । यात्रामा ‘नि’ लागेर ‘नियात्रा’ भएझँै समालोचनामा ‘नि’ उपसर्ग लागेर ‘निसमालोचना’ भएको हो भन्छन् । यसले विशेष प्रकारको समालोचना भन्ने अर्थ दिन्छ । अर्थात् अङ्ग्रेजीमा भ्–ऋचष्तष्अष्कm भन्नाले निसमालोचना र भ्अय–ऋचष्तष्अष्कm भन्नाले वातावरणीय, समालोचना भन्ने बुझिन्छ । यसमा निबन्ध र समालोचना दुवैको विशेषता पाइने भएकाले यसलाई निसमालोचना भनिएको हो । फरक यति हो कि यसको लेखनशैली निबन्धात्मक हुँदाहुँदै पनि उद्देश्य भने समालोचना गर्ने हुन्छ । अथवा भनुँ निबन्धको भन्दा समालोचनाको गुण धेरै हुने भएकाले यसलाई निसमालोचना भनिएको हो । यसरी हेर्दा लेखक पाठक केन्द्रित रहेको देखिन्छ ताकि पाठक समालोचना र निसमालोचनामा भ्रमित नहोस् ।

लेखक पाठकको सहजताका लागि आफ्नो कृत्रिमा निसमालोचना लेखकको पूर्वसङ्केत, निबन्धकार देवकोटाका लक्ष्मी निबन्धसङ्ग्रहमा सङ्ग्रहित केही निबन्धका उदाहरण प्रस्तुत गर्दछन् । “नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष”बाट दृष्टान्तका लागि लिइएको अंशमा उल्लेख गरिएअनुसार “साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो जो राष्ट्रको हृदयमा सबभन्दा तीव्र भएर बस्दछ ।” यसमा भानुभक्तलाई उल्लेख गरिएको छ । भानुभक्तलाई नेपाली हृदयको श्रद्धालु मानिएको छ, जस्ता थुप्रै उदाहरणहरू लेखकले प्रस्तुत गरेका छन् । यी उद्धरणका ढाँचाहरू निबन्धात्मक छन् । त्यस्तै देवकोटाले लेखनाथको कवित्व र उनका कविताको समीक्षा गर्दा पनि सङ्क्षिप्त रूपमा भए पनि भानुभक्त, लेखनाथ र समका प्रवृत्तिलाई तुलना गरेका छन् । लेखककै भनाइअनुसार पनि “प्रस्तुत लेखमा निबन्धका भाषा शैली, तुलनात्मकता, समालोचकीय दृष्टि, दृष्टिविन्दुको मिश्रित प्रयोग आदि निसमालोचनाको विशेषता पाइने हुनाले यो समालोचना पूर्ण रूपमा नभए पनि निसमालोचनाको पूर्वसङ्केतका रूपमा रहेको छ । उक्त लेख मात्र नभई सो सङ्ग्रह नै निसमालोचनाको पूर्वसङ्केतक कृतिका रूपमा रहेको देखिन्छ ।”

निसमालोचनाका पूर्वसङ्केतकका रूपमा  डा. तारानाथ शर्माको नाम पनि उल्लेख्य मान्छन् लेखक । उनका ‘भानुभक्तदेखि तेस्रो आयाम’ नामक कृतिलाई निसमालोचानाको कृति मान्छन् । त्यस्तै लेखकका दृष्टिमा अर्का निसमालोनात्मकताका नजिकका लेखक हुन् शङ्कर लामिछाने । उनले परिचयात्मक निन्धसङ्ग्रहमा उल्लेखित सत्र जना लेखकको परिचय र विशेषतालाई निबन्धात्मक शैलीमा प्रस्तुत गरेका छन् । जुन निसमालोचनाको विशेषतासँग मेल खान्छ । उदाहरणका लागि उनले ‘अम्बर गुरुङ’ शीर्षकलाई लिएका छन् । अत्यन्त अनौपचारिक शैलीमा गायक अम्बर गुरुङको गायन क्षमताका बारेमा आख्यानात्मक ढङ्गले उनीसँगको परिचयको सन्दर्भ प्रस्तुत गरेका छन् । यसरी नै अन्य निबन्धहरूमा पनि निबन्घात्मक शैलीलाई अवलम्बन गरेको पाइन्छ भने प्रसिद्ध साहित्यकार पारिजातको ‘शिरीषको फूल’को भूमिका त झनै निसमालोचना नै भन्न उपयुक्त देखिन्छ ।

त्यसैगरी निसमालोचनाका क्षेत्रमा कमलमणि दीक्षित एक उल्लेख्य नाम हो । उनका लेखन निसमालोचनाको अत्यन्त नजिकमा पर्छ । उनी त समालोचना पनि निबन्धात्मक शैलीमा मात्र होइन, कवितात्मक शैलीमा पनि गर्न सिद्धहस्त देखिन्छन् । समालोचना विधालाई सबैले रसिलो विधा मान्दैनन् तर उनी यो विधालाई पनि अत्यन्त रसिलो रूपमा प्रस्तुत गर्न सिपालु छन् । दृष्टान्तका लागि उनले ‘प्रेमपिण्ड’को समालोचना, वैरागी काइँलाका कविताहरूको भूमिका कवितात्मक शैलीमा नै समालोचना गरेका छन् । 

यस प्रकारको निसमालोचनाको नजिक पुगेर, लख्ने धेरै निबन्धकार समालोचकहरू छन् नेपाली साहित्यमा । दृष्टान्तका लागि हेर्ने हो भने कृष्णचन्द्रसिंह प्रधान, वनमाली निराकार ः गोविन्दराज भट्टराई, कपिल अज्ञात, राजेन्द्र सुवेदी, नारायण चालिसे, डा. लक्ष्मणप्रसाद गौतम, गोविन्दराज विनोदी, उत्तम कँुवर, अमर न्यौपाने, नारायणप्रसाद खनाल, श्रीओम श्रेष्ठ रोदन, एवं इन्द्रबहादुर राई आदि उनी प्रवासी नेपालीहरूको अन्तर कथा बडो प्रभावकारी ढङ्गबाट प्रस्तुत गर्छन् । उनका लेखन पनि समालोचनाका नजिक पाइन्छ ।

यसै सन्दर्भमा लेखक ‘मैदारो’ उपन्यासका पात्र नदीनसँग अन्तर्वार्ता लिन्छन् । मैदारोको विषयवस्तु, संगावेश गरिएको विषयवस्तुप्रतिको दृष्टिकोण सामाजिक विभेद कलाद्वारा सामाजिक विकृति एवं विसङ्गतिको विद्रोहात्मक अभिव्यक्तिलाई प्रस्तुत गर्दै निसमालोचकको आत्म दृष्टिसमेत व्यक्त्याइएको छ । समाजमा विद्यमान उल्टो सामाजिक विकृति, विसङ्गति, वैपरित्य रीतिरिवाजलाई प्रस्तुत गर्न ‘मैदारो’का मुख्य पात्र नदिनको कलालाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ । किनकि हाम्रो समाज, सायद उल्टो गतिमा हिँडिरहेका छ । गाउँमा जो बढी श्रम गर्छ ऊ सधैँ भोको यो चलन उल्टो । जसले धरतीमा बीउ रोपेर अन्न उब्जाउँछ, उसैले कथित उपल्लो जातको घरको भकारी छुन पाउँदैन । यो चलन उल्टो । जसले भगवान् बस्ने मन्दिर बनाउँछ, भगवानको मूर्ति बनाउँछ, ऊ आफैँ, भगवान्बाट टाढा पारिएको छ । यो चलने उल्टो । जस्ता उदाहरण दिँदै नदीनको माध्यमद्वारा आफ्ना असन्तुष्टिहरू व्यक्त गरिएको छन् भने अरू त अरू सबैभन्दा पवित्र कर्म प्रेम गरेर सबैभन्दा अपमानित भई समाजमा बाँच्नुपर्ने अन्तर्जातीय विवाहलाई पनि यसरी नै व्यक्त गरेका छन् । त्यसैले उपन्यासले उठाएको, जातीय विभेद, अन्तर्जातीय वैवाहिक सम्बन्ध आदिले समाज अवयतितिर ढल्किएको बोध गराउँछन् । छूत अछूतको सन्दर्भमा उनले अर्को उदाहरण पनि प्रस्तुत गरेका छन् “हिक्मत सिंहलाई दलितको पसिना र सीप चल्यो, पानी चलेन । बाटुली काकीको ओठ र योनी चल्यो, पानी चलेन । जस्ता उल्टो व्यवहारलाई उजागर गरिएको छ । विशेषगरी हाम्रो समाजमा प्रचलित जातीय, धार्मिक, साम्प्रदायिक भावनाको कट्टरताले समाज अधोगतिमा हिँडिरहेको कुराको अभिव्यक्तिका लागि नै उल्टो शैली अपनाउन आवश्यक देखिएको कुरा नदिनको माध्यमबाट स्पष्ट पारिएको छ । कतै किंवदन्तीको, कतै उखान टुक्काको प्रयोग गरी विषयवस्तु अत्यन्त रोचक बनाउने प्रयास गरिएको पाइन्छ । जस्तै ‘मैदारो’ भन्नाले अन्तिम रोपाईं भन्ने बुझिन्छ । जुन किसानको मैदारो पर्छ उसको घरमा अनिष्ट हुन्छ भन्ने भनाइ पनि छ । तर कथित छूत अछूतको प्रेम सम्बन्धका कारण मैदारोको किंवदन्ती निर्माण भएको रहेछ । यस्ता थुप्रै उदाहरणहरू नदिनले दिएका छन् र लेखकले पनि मैदारो, उपन्यासलाई भित्रैबाट उधिनेर केही निचोड निकाल्न चाहेको बुझिन्छ । यसरी हेर्दा यात्रामा ‘नि’ उपसर्ग लगाएर ‘नियात्रा’ भनिएझैँ समालोचनामा ‘नि’ उपसर्ग लगाई ‘निसमालोचना’ प्रस्तुत गर्नुहुन्छ भने व्यापक अन्तर्वार्तामा ‘नि’ उपसर्ग थपेर किन ‘निअन्तर्वार्ता’ नभन्ने त ? यो मेरो जिज्ञासा मात्र हो ।

त्यस्तै गरी लेखक ‘दोषी चस्मा’मा ‘नि’ थपरे ‘निर्दोष चस्मा’ भन्न पुग्छन् । कस्तो दृष्टिलाई निर्दोष चस्माद्वारा हेरिएको छ र कस्तो दृष्टिलाई दोषी चस्माद्वारा हेरिएको छ भन्ने कुरा साहित्यिक र राजनीतिक दुवै विषयवस्तुलाई समावेश गरिएको देखिन्छ । त्यसरी नै ‘यो हल्लै हल्लाको देश’लाई ‘अझै हल्लाले छाडेको छैन्’ भत्रे भूपि शेरचनद्वारा रचित कविताले नेपालको यथार्थलाई उजागर गरिएको छ । ‘जीवनका पक्षमा वकालत’, ‘काजीको सपना मन प¥यो’ आदिका उदाहरणहरू लेखकले निसमालोचनाको लेखन शैलीको पुष्टिका लागि प्रस्तुत गरेका छन् ।

वास्तवमा वर्तमान नेपाली साहित्य जगत्ले पाश्चात्य साहित्य जगत्को अनुकरण गरी उत्तरआधुनिकता, विनिर्माण एवं डायस्पोरिक साहित्य भन्नतिर लागिपरेका छन् । तर मेरो विशुद्ध व्यक्तिगत धारणामा भन्ने हो भने लेखकले आफ्नै मौलिक सोचद्वारा ‘निसमालोचना’लाई एउटा पक्षका रूपमा स्थापित गर्न खोज्नुभएको छ, त्यो अत्यन्तै सह्रानीय काम हो । आफ्नो मौलिकतालाई कसरी अघि बढाउने भन्ने अवधारणा प्रत्येकमा हुनुपर्ने आवश्यकता हुन्छ । 

साहित्यका विविध विधाहरू जस्तै काव्य, कथा, आख्यान, निबन्ध आदि भए पनि समालोचनालाई एउटै छुट्टै विधा त मानिएको छैन तापनि यो समालोचनालाई जस्तै निसमालोचनालाई पनि जीवन्त राख्न सकेमा नेपाली साहित्यको श्रीवृद्धि नै हो भन्न सकिन्छ । वास्तवमा समालोचना र निबन्ध दुवैको विशेषता पाइने निसमालोचनालाई आत्मपरक शैलीमा पनि अवलम्बन गर्न सकिन्छ भन्ने दह्रो दृष्टान्त हो । ‘निसमालोचना ः सिद्धान्त र प्रयोग’ कृति समालोचनामा नयाँ दृष्टि, नयाँ अवधारणा एवं नयाँ शैलीको प्रयोगमा समालोचक सफल देखिएका छन् । 

क्षेत्रपुर, चितवन