• ४ असार २०८२, बुधबार

प्रविधिमैत्री बन्दै पर्यटन विकास कार्यालय

blog

पर्यटन विकास कार्यालय रौतहट । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असार ४ गते ।
पर्यटन विकास कार्यालय रौतहट प्रविधि मैत्री बन्दै गएको छ । सेवा प्रवाहलाई सहज बनाउन तथा प्रदेश सरकार मातहतका कार्यालयको कामकारवाही चुस्तदुरुस्त हुँदै गएको दर्शाउन समेत पछिल्ला दिनहरुमा कार्यालयले प्रविधिको प्रयोगलाई बढाएको छ ।

साथै कार्यालयले आफ्ना हरेक योजनाको डिजिटल प्रोफाइल बनाउने भएको छ । कार्यालयका प्रमुख राजेश काफ्लेले कार्यालयमा रहेका कागजात हराउने डर, बाढीलगायत दैबी प्रकोपका कारण नष्ट हुने तथा खोजेको बेला पाउन समय लाग्ने अवस्था अन्त्य गर्ने मुख्य उद्देश्यले हरेक योजनाको डिजिटल प्रोफाइल बनाउन लागिएको जानकारी दिनुभयो ।

योजना पिच्छे डिजिटल प्रोफाइल निर्माण भएपछि ‘क्युआर कोड’मार्फत योजनासँग सम्बन्धित कागजपत्र हेर्न सकिने कार्यालय प्रमुख काफ्लेको भनाइ छ ।

कार्यालयबाट आर्थिक वर्ष २०८१/०८२ मा उपभोक्ता समितिमार्फत एक सय ३० वटा योजना तथा ठेक्का मार्फत २९ वटा योजना सञ्चालित छन् ।

ठेक्का भएका मध्ये एउटा योजनामाथि मुद्दा परेको र अर्को एउटा योजना सागरनाथ वन परियोजना भित्र परेकाले सञ्चालन गर्न नसकिएको कार्यालयले जनाएको छ ।

रौतहट र सर्लाही गरी दुई जिल्ला कार्य क्षेत्र भएको पर्यटन विकास कार्यालयले धार्मिक, पर्यटन, सामाजिक सांस्कृतिकलगायतका क्षेत्रमा काम गरिरहेको छ ।

चालु आर्थिक वर्षमा मठमन्दिर, मस्जिद, मदरसा, गुम्बा निर्माण तथा स्तरोन्नति छठघाट कब्रिस्तान, सम्सान घाट निर्माण, पार्क निर्माण, स्वागतद्वार निर्माण, पार्किङ्ग निर्माण, धर्मशाला, बिबाह मण्डप, संग्रालय, चिल्ड्रेन पार्क निर्माणलगायतका योजनामा काम भइ रहेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

कार्यालयका लेखा अधिकृत सुदिप गौतमका अनुसार प्रत्येक योजनामा होर्डिङ्ग बोर्ड राखिएको, योजनाको बिमा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयलाई प्रविधि मैत्री बनाउन हर सम्भव प्रयास गरिएको छ ।

उपभोक्ता समितिले खाता खोल्नका लागि सिफारिश लिन कार्यालय धाउनुनपर्ने उपाय अवलम्बन गरिएको लेख अधिकृत गौतमले बताउनुभयो ।

बैंकमा खाता खोल्नका लागि सिफारिश लिन चाहिने आवश्यक कागजात व्हाट्सएपबाट पठाएपछि त्यसैबाट सिफारिश पठाइने, भुक्तानी लिन चाहिने आवस्यक कागजात अनुगमन, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण लगायतका अनुसुचिहरु उपभोक्ता समितिलाइ व्हाट्सएपबाट पठाइने गरिएको लेखा अधिकृत गौतमले बताउनुभयो ।

कार्यालय प्रविधि मैत्री बाटो अबलम्बन गर्न थालेपछि कार्यालय धाउनुपर्ने अवस्था नरहेको र काममै ध्यान केन्द्रित रहेको नुनथर पर्यटकीय स्थल पूर्वाधार कार्य उपभोक्ता समितिका अध्यक्ष भरत प्रसाद पुडासैनीले बताउनुभयो । यसले गर्दा कामको गुणस्तर समेत राम्रो हुने अध्यक्ष पुडासैनीले ठोकुवा गर्नुभयोे ।