रजनी योगी
सुर्खेत, वैशाख २१ गते । कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ। कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ। कृषि र वनस्पतिमा मात्र नभई प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको विज्ञहरू बताउँछन्।
अनुसन्धानकर्ता भूपेन्द्र शाहीका अनुसार पछिल्लो समय हिमाली क्षेत्रका नदीनाला सुक्दै जानु, हिउँ पर्ने क्रम पनि कम हुनु, खेतीबालीमा रोगकीराको प्रकोप बढ्नु जलवायु परिवर्तनको असर हो। हिमालको हिउँ पग्लने क्रम बढ्नु, हिउँ पर्ने क्रम रोकिनु, सानातिना नदीनाला सुक्दै जानु, बढ्दो तापक्रमले परिवर्तन ल्याएको छ। कर्णाली जलाधारमा पनि प्रत्यक्ष प्रभाव देखिएको उहाँले बताउनुभयो। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले जलवायु परिवर्तनले पार्ने असरमा कर्णाली अग्रपङ्क्तिमा रहेको बताउनुभयो। उहाँका अनुसार नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ। त्यसमा कर्णाली झनै विशेष छ। हिमाली जिल्लाहरूमा हिमताल बढेका छन्। जसले गर्दा बाढी आउने सम्भावना बढी छ।
पछिल्लो समय मनसुन परिवर्तनसँगै पानीको मात्रा घटबढ भइरहेको उहाँले बताउनुभयो। पाँच/छ दिनमा पर्ने पानी एकैदिनमा पर्ने र त्यसले ठूलो क्षति गर्ने गरेको उहाँले जानकारी दिनुभयो। जलवायु परिवर्तनमा देखिएको असर न्यूनीकरणका उपायका बारेमा अनुसन्धान आवश्यक रहेको शर्माको भनाइ छ। जलवायु परिवर्तनको असर शिक्षा, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा देखिएको उहाँले बताउनुभयो। कर्णाली प्रदेश सरकारका प्रमुख सचिव गोपीकृष्ण खनालका अनुसार आउँदो बजेटमा जलवायु परिवर्तन न्यूनीकरण कार्यक्रमका लागि बजेट थप गरिनेछ। जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा असर न्यूनीकरण गर्न स्थानीय सरकारसँग मिलेर काम अघि बढाउने योजना प्रदेश सरकारको छ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा बढी परेको बताउनुभयो। सरकारले बिनाअध्ययन हचुवाका भरमा लगानी गर्दा उत्पादनमा ह्रास आइरहेको उहाँको भनाइ छ। यहाँ जलवायु परिवर्तनले सबैभन्दा बढी कृषि क्षेत्रमा असर पारेको देखिन्छ। जलवायु परिवर्तनले उत्पादनमा ह्रास, रोजगारी गुम्नु, बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी र भोकमरीलगायतका समस्या देखा परिरहेको उहाँले जनाउनुभयो। कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका वरिष्ठ डिभिजन इन्जिनियर रमेश सुवेदीले जलवायु परिवर्तनका असर र यसका असरलाई कम गर्न समुदायमा सचेतनाका कार्यक्रम आवश्यक रहेको बताउनुभयो। ठाउँठाउँमा भइरहेका पूर्वाधार विकासले झनै जोखिम बढेको उहाँ बताउनुहुन्छ। मानवीय क्रियाकलापले गर्दा ठूलो क्षति भइरहेको उहाँको भनाइ छ।
पछिल्ला वर्षमा कृषि उत्पादनमा ह्रास आएको छ। नयाँ खालका रोग देखा पर्न लागेका छन्। यसले कर्णाली प्रदेशको कृषि उत्पादन घट्दै गएको छ। जलवायु परिवर्तनको असर कृषिमा पर्दा उत्पादन घट्दै गएको पाइएको हो। प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाया कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परिरहेको बताउनुहुन्छ। बाढी–पहिरोले खेतीयोग्य जमिन बगाएको छ। फलफूलमा विभिन्न किसिमका रोगकीराको प्रकोपले गर्दा उत्पादन घटेको छ। उहाँका अनुसार फल्ने समयभन्दा अघि नै फलफूल फुल्ने, दाना लाग्ने भइरहेको छ। जसले गर्दा उत्पादन र गुणस्तर कम हुन्छ। अहिले आँपका फलमा विभिन्न किसिमका समस्या देखिएका छन्। उहाँका अनुसार बोटमा लटरम्म आँप फलेको भए पनि कृषकले बिक्री गर्ने समयमा दानाहरू तौल कम र कम स्वादिष्ट हुने गरेको छ।