घोराही समाचारदाता
घोराही, वैशाख २१ गते । दाङको दङ्गीशरण गाउँपालिकाको मायाखोला गाउँमा पोल गाडेको १२ वर्षपछि बत्ती पुगेको छ। स्थानीयवासी र गाउँपालिकाको प्रयासपछि विकट बस्ती मायाखोलामा विद्युत् पुगेको हो। २०६८ सालमा विद्युत् विस्तारका लागि गाउँमा पोल गाडिए पनि भौगोलिक विकटता र सानो बस्ती भएकाले मायाखोलामा विद्युतीकरण हुन सकेको थिएन।
गाउँमा सोलार र मट्टितेलको भरमा रात काट्ने गरेका स्थानीय बत्ती आएपछि खुसी भएका छन्। गाउँमा विद्युत् पु-याउन १२ वर्षअघि नै विद्युत् पोल गाडे पनि बल्ल विद्युत् आएको स्थानीय धनीराम चौधरीले बताउनुभयो। “गाउँमा विद्युत् पोल गाडेको लामो समय भए पनि तार जडान नहुँदा बत्ती बाल्न पाएका थिएनौँ,” चौधरीले भन्नुभयो, “विद्युत् पोलहरूमा तार जडानसँगै घरघरमा बत्ती पुगेपछि अब सहज भएको छ।” गाउँमा बत्ती नहुँदा रातको समयमा काम गर्न, मोबाइल चार्च गर्न, बालबालिकालाई पढ्न समस्या हुने गरेको थियो। गाउँमा विद्युत् पुगेपछि स्थानीयलाई बत्ती बाल्न र मोबाइल चार्जसँगै कुटानीपिसानी कारखाना सञ्चालन गर्नसमेत सहज भएको स्थानीय सुरेन्द्र चौधरीले बताउनुभयो।