नवलपरासी समाचारदाता
कावासोती, वैशाख २१ गते । अहिले नवलपरासी पूर्वकाकृषकले बाँझो जमिनको सदुपयोग गर्दै खेतमा खोले सिमसार जातको साग रोप्न थालेका छन्। बजारमा यसको माग अत्यधिक बढ्दा किसानलाई भ्याइनभ्याइ भएको छ। नवलपरासी पूर्वका कावासोती नगरपालिका आसपासका कृषकहरू अहिले बाँझो जग्गालाई सदुपयोग गर्दै खोले सिमसार जातको साग रोप्न व्यस्त छन्।
कृषक धनिराम गुरौले सागको स्याहारसम्भार गर्न र बिक्री गर्ने काममा व्यस्त भएको बताउनुभयो। यहाँका कृषकले बाँझो जग्गामा कात्तिक महिनादेखि नै खेत रोपाइँ गरेजसरी खोलेसाग रोप्ने गरेका छन्। हरेक महिनामा खोलेसाग टिपेर बिक्री गर्ने गरेको र यसले यहाँका किसानको आर्थिक अवस्थामा सुधार आएको गुरौले बताउनुभयो। अहिले यो मौसममा खोलेसाग टिपेर बिक्री गर्ने समय भएको उहाँले जानकारी दिनुभयो। खेतमा लगाइने यो साग हरेक एक महिनामा खान योग्य हुने भएकाले यसको मागसमेत अत्यधिक छ। किसानलाई मागअनुसार पु-याउन नै समस्या भएको कृषक रामकली महतोले बताउनुभयो। बाँझो जमिनमा धान रोपेजस्तै गरी यो साग खेतबारीमा छर्ने गरिन्छ। यसलाई किसानले घाँस काटेजस्तै गरी काट्ने र पानीमा डुबाएर सफा गर्ने अनि मुठा बनाएर बिक्री गर्न लगिने गरेको कृषक श्याम थारूले बताउनुभयो।
पाँच कट्ठा खेतमा रोप्दा सुरुमा पाँच हजारसम्म खर्च हुने गरेको र त्यसबाट वर्षमा डेढ लाखसम्म आम्दानी हुने गरेको किसान बताउँछन्। कृषक हुकुम सिंह महतो थारूले अहिले खेतमै साग किन्ने ग्राहकको भिड बढ्ने गरेको बताउनुभयो। खोलेसागले अहिले कावासोती नगरपालिका आसपासका क्षेत्रहरू परिचित छन्। बजारमा पाइने अन्य किसिमका सागभन्दा यसमा विषादी नहुने भएकाले पनि माग बढेको कृषकको बुझाइ छ।