छिन्चु समाचारदाता
सुर्खेत, वैशाख २१ गते । कर्णालीका सात जिल्लामा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ नामक रोग फैलिएको छ। सङ्क्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन्। कतिपय ठाउँमा चौपाया मरेको रिपोर्ट प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएको बताइन्छ।
यसअघिसम्म गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय भैँसीमा समेत देखिएको छ। कर्णालीका १० जिल्लामध्ये सात जिल्लामा यो रोग महामारीका रूपमा फैलिरहेको छ। सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालीकोट र हुम्लामा ‘लम्पी स्किन’ को प्रकोप देखिएको छ। यसमध्ये पनि सबैभन्दा बढी सल्यान जिल्ला प्रभावित बनेको छ। हुम्लामा पनि पछिल्लो चरणमा यो रोग देखिएको जनाइएको छ।
पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत प्रचण्ड खड्काका अनुसार वीरेन्द्रनगरका छाडा पशुचौपाया हामी पाल्छौँ भन्दै केहीले हुम्ला लगेका थिए, ती गाईसँगै रोग पनि हुम्ला पुगेको हो। मुगु, जुम्ला र डोल्पाबाट अहिलेसम्म पशुबस्तुमा कुनै सङ्क्रमण भेटिएको जानकारी नआएको बताइन्छ। जाजरकोट पशुसेवा कार्यालयका अनुसार जुनिचाँदे, भेरी, शिवालय, छेडागाड, नलगाडलगायतका पालिकामा रोगको प्रकोप अत्यधिक बढेको छ। जाजरकोटमा यही रोगका कारण केही चौपाया मरिसकेको पशुसेवा कार्यालयले जानकारी दिएको छ।
‘लम्पी स्किन’ रोग क्याप्रिपक्स भाइरसका कारण गाईभैँसीमा लाग्ने सङ्क्रामक रोग हो। यस रोगका मुख्य लक्षणमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा गिर्खा देखिन्छन्। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, बाँझोपन हुने र गर्भ तुहिने सम्भावना बढी रहने पशु चिकित्सक बताउँछन्।
पशुले घाँसपानी नखाने, नाक, खुट्टा सुन्निने र पशु हिँडडुल गर्न नसक्ने यसका लक्षण हुन्। पशुहरू दुब्लो हुने, निमोनिया हुने र छालामा धब्बा वा प्वाल हुने गर्दछन्। विशेषगरी यो रोग लामखुट्टे, टोक्ने झिँगा, किर्ना आदिको टोकाइबाट बढी सर्ने गर्छ। पशु विकास अधिकृत खड्काले यस रोगका कारण दूध उत्पादनमा ८० प्रतिशत ह्रास आउने आकलन गरिएको बताउनुभयो। कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रणबारे प्रयास भइरहेको बताउनुभयो। विज्ञ टोली फिल्डमा खटिरहेको र त्यसको यथेष्ट रिपोर्टपछि भ्याक्सिन खरिदका लागि पहल थालिने उहाँको भनाइ छ।