• ७ पुस २०८१, आइतबार

अर्थतन्त्र नसुध्रे नेपाल छिट्टै टाट पल्टिन्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको आर्थिक अवस्था सुधार्नेतर्फ काम गर्नुपर्ने सुझाव दिनुभएको छ । मंगलबार एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले सो सुझाव दिनुभएको हो । 

पैसा नभएका कारण देशमा आयातमा कमी आएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले सरकारको ध्यान आर्थिक अवस्था सुधार्नेमा केन्द्रित नदेखिएको टिप्पणी गर्नुभयो । ओलीले भन्नुभयो, ‘पूर्ण रूपमा अर्थतन्त्र ओरालो लाग्न थालिसक्यो, सरकारको ध्यान अर्थतन्त्र सुधार्नेमा कहिले जान्छ ?’ देशको बिग्रँदो अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिए, ओरालो लागेको स्थितिलाई रोक्न समस्या हुन्छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “देश असफल राष्ट्र बन्ने खतरा छ, तपाई हामीले पनि ख्याल गर्नुपर्ने अवस्था आइसक्यो । देश बर्बादीतिर जाँदैछ ।” 

खनिजजन्य, खानीजन्य उद्योगहरू, उत्पादनहरू ठप्पप्रायः भएको उहाँले चर्चा गर्नुभयो । औद्योगिक क्षेत्र बर्बाद अवस्थामा पुगिसकेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “उद्योगहरू बन्द हुँदैछन्, निर्माण व्यवसाय ध्वस्त भइरहेका छन्, सरकारको ध्यान यतातिर गएको छ कि छैन ?” 

एमाले नेतृत्वको सरकारका पालामा दिनमा डबल लेन, फोर लेन, ६ लेनका बाटा बन्ने गरे पनि सरकारलाई टिक्न नदिइएको उहाँले टिप्पणी गर्नुभयो । अहिले सरकारले भन्सार छल्ने प्रवत्ति बढे पनि सरकारले नियन्त्रण गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । “भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने बेला कम भइरहेको छ । तीव्र गतिमा अर्थतन्त्र माइनसमा गइरहेको छ । त्यही कारण अर्थतन्त्र सङ्कटमा छ” अध्यक्ष ओलीले भन्नुभयो, “यही अवस्था कायम रहे देश टाट पल्टिने अनिवार्य छ । यसमा गम्भीर बनौँ ।” अर्थतन्त्र सङ्कटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौती गर्न खोजेको उहाँले टिप्पणी गर्नुभयो ।