सिराज खान
नेपालगञ्ज, वैशाख १९ गते । बाँकेको कोहलपुर–१३, खड्कवारका ५५ वर्षीय गोपाल ओलीले दूध बेचेर मात्रै मासिक ७५ हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
विगत दुई वर्षदेखि व्यावसायिक गाईपालनमा सक्रिय रहनुभएका ओलीले सबै खर्च कटाएर दूध बेचेर मासिक ७५ हजार आम्दानी गरिरहनुभएको उहाँले जनाउनुभएको छ ।
किसान ओलीका अनुसार दैनिक साँझ बिहान गरेर ५० लिटर दूध उत्पादन हुने गरेको छ । आफूले उत्पादन गरेको सबै दूध डेरीमार्फत बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । दूध उत्पादनबाट मासिक ७५ हजार रुपियाँ चोखो कमाइ हुने गरेको ओलीको भनाइ छ ।
“जीविकोपार्जनका लागि व्यवसाय गरिरहेको छु । सङ्घर्ष गरे फल मिठो हुन्छ । कमाइ पनि राम्रो हुँदोरहेछ भन्ने प्रमाणित गर्न पाएर खुसी छु,” उहाँले भन्नुभयो ।
ओलीले सुरुमा भैँसीपालन गरे पनि अहिले गाईपालन गरिरहनुभएको छ । उहाँले कृष्टि पशुपालन फार्मबाट व्यवसाय गर्दै आउनुभएको छ । ओलीको फार्ममा अहिले आठवटा दुहुना गाई छन् ।
होलिस्टेन क्रस र जर्सी क्रस गाईबाच्छाले उहाँको फार्म भरिएको छ । पशुपालन व्यवसायबाट मनग्गे आम्दानी हुने गरेको जनाउँदै यसबाट स्वदेशमै विदेशको भन्दा बढी आम्दानी गर्न सकिने बताउनुभयो ।
ओलीको बुढेसकालको सहारा उहाँको पशुपालन व्यवसाय बनेको छ । युवा अवस्थामा ओलीले घरको आवश्यकता पूर्ति गर्नका लागि कालापहाड जानुप-यो । घरको आर्थिक अवस्था कमजोर रहेकाले कमाउनका लागि कालापहाड जानुपरेको ओलीको भनाइ छ ।
व्यवसायका लागि ओलीले सुरुमा कृषि विकास बैङ्कमा जग्गा धितो राखेर १५ लाख रुपियाँ ऋण लिनुभयो । चारवटा गाई र गोठ बनाउन १५ लाख खर्च भयो । उहाँले भन्नुभयो, “दुईवटा दुहुना गाई भारतबाट र दुईवटा नेपालमै किनेको थिएँ ।”
अहिले व्यवसाय राम्रो रहेको र प्रतिलिटर ६५ रुपियाँमा दूध बेच्दै आएको ओलीले बताउनुभयो । गाईका लागि उहाँले १० कट्ठा क्षेत्रफल जग्गामा बर्सिम घाँस उत्पादन पनि गरिरहनुभएको छ ।