• ११ मंसिर २०८१, मङ्गलबार

सूचना प्रविधिमा नेपालको पहुँच

blog

सूचनाप्रविधि क्षेत्रमा भएको विश्वव्यापी विकास र विस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोग व्यापक हुँदै गएको छ। विश्व च्याट जीपीटी ४ बिटा भर्सन चलाउँदै गर्दा आज नेपालमै बसेका तमाम नेपाली च्याट जीपीटी ३ चलाउन अभ्यस्त भइसकेको अवस्था छ । सूचनाप्रविधि प्रणालीमा प्रयोग गरिने उपकरण, अपरेटिङ सिस्टम, सफ्टवेयर, सूचनाप्रविधि प्रणाली, डाटाबेस, तथ्याङ्क भण्डारणमा संसारभर प्रयोग गरिने अत्याधुनिक प्रविधिको पहुँचमा हामी बराबर वा वरपर रहेका छौँ। 

पछिल्लो एक दशक नेपालले सञ्चार र सूचना क्षेत्रमा गरेकोजस्तो प्रगति अन्य कुनै क्षेत्रमा गरेको छैन। आज लगभर हरेक घरमा स्मार्ट डिभाइस छ। तीन घरमध्ये दुई घरमा इन्टरनेटको सुविधा रहेको छ। हाम्रो अप्टिकल नेटवर्क र वायरलेस सेवा निजी र सरकारी क्षेत्रको समन्वयनका कारण प्राविधिक रूपले निकै अब्बल देखिएको छ। यद्यपि टावर र टेलिकम पूर्वाधार सियरिङ लगायतका विषयमा कानुन बनिसके पनि त्यसको कार्यान्वयन हुन विलम्ब भएको छ। जसका कारण टेलिकम सेवा प्रदायकको लागत मूल्य घट्न सकेको छैन। 

आमउपभोक्ताले महँगो मूल्यमा सञ्चार सेवा लिनुपर्ने अवस्था बनेको देखिन्छ। रोबोटिक्स र आधुनिक प्रविधिमा हाम्रो विकास सुस्त छ तर यसले गति लिने क्रम जारी छ। डिजिटल साक्षरता बढ्ने क्रममा रहेको छ। नेपालमा औसतमा डेढ अर्बजति मासिक कारोबार डिजिटल वालेटमार्फत हुने गरेको छ। आज चोक–चोकका किराना पसलमा समेत क्यूआरमार्फत भुक्तानी गर्ने सेवा उपलब्ध छ। 

ओपन सोर्स टेक्नोलोजीका कारण आज नेपालीले दैनिक जीवनमा प्रयोग गर्ने सफ्टवेयरको समेत उपयोगिता बढेको छ। आज संसारभर प्रयोग हुने इनड्राइभरमार्फत नेपालीले रोजगारी र सुविधा पाएका छन्। ओपन सोर्स एन्टिभाइरस प्रोग्राम, भिडियो इडिटिङलगायत तमाम प्रविधि आज बजारमा सहजै उपलब्ध छ। रोचक त के छ भने करिब २० प्रतिशत नेपाली कलाउड व्याक्प प्रविधिसमेत प्रयोग गर्न थालेका छन्। कलाउड स्टोरेजको प्रयोग दिन प्रतिदिन बढ्ने क्रममा छ। पछिल्लो समय नेपाली आफ्नो डाटालाई र डाटा सुरक्षालाई लिएरसमेत संवेदनशील हुन थालेका छन्। भीपीएन र टु फ्याक्टर सुरक्षा प्रणालीको प्रयोग बढ्ने क्रममा छ। आज प्रायः सामाजिक सञ्जाल प्रयोगकर्ता आआफ्नो सामाजिक सञ्जालको कन्टेन्टलाई लिएरसमेत सतर्क छन्। 

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समेत विद्युतीय शासनलाई प्राथमिकतामा राख्ने क्रम जारी छ। तीनै तहका सरकारले आफूले दिने सेवालाई अनलाइनमा लैजाने क्रम बढ्दो छ। राजस्व र विभिन्न कर तिर्न नेपाल सरकारले अनलाइन भुक्तानी सेवा प्रदान गरेको छ र यसको प्रयोग बढ्ने क्रममा छ। थुप्रै सरकारी कार्यालयका तमाम काम अनलाइनमा हुने गरेका छन्। नेपाली आफ्नो सपिङ, टिकेटिङ र बिलिङ आज अनलाइन प्रविधिको प्रयोगले गर्न समर्थ छन्। पछिल्लो समय यातायात, खानेपानी, विद्युत्, सञ्चारलगायतको भुक्तानी अनलाइनमार्फत हुने क्रम बढेको छ। 

आजको युगमा सूचनाप्रविधिप्रति आमविद्यार्थीको चासोसमेत बढ्ने क्रममा छ। सूचना प्रविधिलाई विभिन्न विश्वविद्यालयले समेत प्राथमिकता राखेर आफ्नो पाठ्यक्रममा राखेका छन्। व्यवस्थापन, मानबिकी, इन्जिनियरिङ र डिप्लोमा गरेर विभिन्न सङ्काय र कोर्षमार्फत सूचना प्रविधिको क्षेत्रमा जनशक्ति विकास हुने क्रम नेपालमा तीव्र छ। नेपालको श्रम बजारमा समेत सूचना प्रविधिको सीप हुनेहरूलाई तमाम अवसर छ। पछिल्लो समय नेपालले आईसीटी सेवा निर्यातमार्फत राम्रो विप्रेषण भिœयाउन सफल भएको छ। रिसर्च र आधुनिक अनुसन्धानको क्षेत्रमा समेत विश्वव्यापी रूपमा नेपालीको योगदान बढ्ने क्रममा छ। हाम्रो आईसीटी श्रम बजारका जनशक्तिको विश्वव्यापी मूल्याङ्कनसमेत सम्मानजनक रहेको छ। 

सूचना प्रविधिको अन्डरवल्र्ड मानिने डार्क वेबमा नेपालीको सीमित पहुँच छ। अन्तर्राष्ट्रिय प्रतिवेदन हेर्दा नेपालबाट टोर वेब ब्राउजर र अन्य ब्रिज कनेक्सनबाट डार्क वेब कनेक्सन रिक्वेस्ट गर्नेको सङ्ख्या हेर्दा राज्य आतङ्कित हुनुपर्ने अवस्था हो। राज्यसंयन्त्रसँग उचित जनशक्ति नहुनु र भएको जनशक्ति पनि उचित नहुनु दुवै खाले समस्या छ। इन्टरनेटबाट विश्वमा गरिने अपराधमा नेपाल हब बनेको विषयलाई राज्यले न नकार्न सक्छ न त स्वीकार्नै सकेको छ। 

क्रिप्टो माइनिङ, रेड रुम, डार्क ओटीटी, हुन्डी, अनलाइन क्यासिनो आदि मात्रै नभएर नेपालको चिन्ताको विषय डिपफेक पोर्नोग्राफीसमेत हुनुपर्ने हो। नेताको फेसबुकमा स्टाटस् अपडेट गरेकै भरमा विज्ञको ताज भिरेकाहरू र टाइप गर्न मात्रै आईटी अफिसर बनेकाहरूले यो कुरा बुझ्न कसरी सक्छन् ? राज्यले तत्काल सेनालाई नै साइबर डिफेन्समा प्रयोग गर्नुपर्ने वा कुनै स्वतन्त्र विज्ञ संयन्त्र हुनुपर्नेमा सायदै फरक मत आउला। 

सर्फेस वेब अर्थात् सामान्य बुझाइको इन्टरनेटमा सामाजिक सञ्जाल नै इन्टरनेटको पर्याय बनेको छ। सामान्य फिचरबाहेक अन्य फिचरको नेपाली प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छैनन्। नेपालको मुटु काठमाडौँमा गुगल म्यापसमेत प्रयोग गर्न अधिकांश युवाले पठाओ, टुटल आदि प्रचलनमा आएर हो। अहिले पनि थुप्रै सहरमा समेत शिक्षित व्यक्ति गुगल म्याप प्रयोग गर्न असमर्थ छन्। उपत्यकाबाहेक ई–कमर्सले बजार लिन सकेको छैन। नेपालमा वेब लाइब्रेरी र ओपनसोर्स कोर्षको प्रयोगकर्ता निकै न्यून छन्। 

नेपालमा गुगल सर्चमार्फत इन्टरनेटमा खोजिने विषयको विस्तृत अध्ययन गर्दा इन्टरनेट साक्षरताको अवस्था राम्रो छैन भन्न दोस्रो पटक सोच्नु पर्दैन। राज्यले लगानी र साझेदारी फराकिलो नबनाएरै फरक नतिजा र अवस्थाको कल्पना गर्नु हुँदैन। १७ अप्रिल, २०१९ मा पहिलो पटक नेपाली स्याट–वान (बर्ड एनपीएल) नामको नेपालको पहिलो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको दुई वर्ष भइसक्दा पनि यसबीचमा यो क्षेत्रमा कुनै उल्लेखनीय प्रगति भएको छैन। नास्ट, पीआरआई, योजना आयोग आदिले अनुसन्धान गर्दा वा गराउँदा आमसूचना तथा सञ्चार र प्रविधिको पाटो नबुझेको, नसमेटेको वा खुम्च्याएको अवस्था छ। 

आईटी इकोनोमीको बहस गर्ने सामथ्र्य कुन दलको कुन नेताले राख्छन् ? सूचनाप्रविधि क्षेत्रमा भारत र सार्क मुलुकको पोलिसी कपी पेस्ट गर्दा जति सजिलो थियो, कार्यान्वयन गर्दा त्यति नै गाह्रो छ। हामीले आयात गरेर चलाउने इन्टरनेट कुनै जीटुजी ट्र्याकबाट हुँदैन। हाम्रो भारतप्रतिको इन्टरनेटको निर्भरता निकै बढेको छ । देशमा अमेरिकी डलरको सञ्चिति कम भएको बेला लेटर अफ क्रेडिटको ढिलाइले छिट्टै इन्टरनेट आपूर्तिमा ठूलो समस्या आउने अवस्था छ। 

पछिल्लो समयमा बैङ्क र एटीएममा ह्याकिङ र चोरीजस्ता घटना बढ्दै जानुले हाम्रो साइबर सुरक्षा अवस्थाको ऐना देखिएको छ। डिजिटल करेन्सीबारे बहस सुरु भइरहँदा हालको अवस्थामा अनलाइन कारोबार गर्दा टुएफए सुरक्षा प्रक्रिया राष्ट्र बैङ्क र सरकारले अनिवार्य नगरेको क्षति कुन दिन कसरी राष्ट्रले बेहोर्नुपर्ने हो, सोचेर चिन्तित हुनुपर्छ । फेसबुक र गुगललगायत संस्था सरकारको राजस्व र निगमनको दायरामा नहुनुले हाम्रो मुलुकको स्वाधीनतामा ठेस पुग्दा नागरिकको मन दुख्नुपर्नेमा कसैलाई चासो नहुनु गम्भीर विषय हो। 

फेक न्युज र इन्फर्मेसन पेन्डेमिक्सको हामी सामना गरिरहेका छौँ। नेपाली राजनीतिमा सामाजिक सञ्जाल स्वतन्त्र सञ्जाल कम र राजनीतिक जञ्जाल बढी प्रतीत हुने आमनागरिकको बुझाइ छ। नेपालको साइबर स्पेसमा आइडिया र सोच भाइरल विरलै हुन्छ। कन्टेन्टबारे ज्ञान सायदै व्यवस्थित छ। नेपालले थप राम्रो गर्न सक्ने अवस्था रहेको यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने जरुरी छ। महावीर पुनलगायत अभियन्ताको माग रहेको अन्वेषणसमेत यसै क्षेत्रले व्यापकता दिलाउन सक्छ। हामीले सकारात्मक भएर यस क्षेत्रको विकासमा पहल ग¥यौँ भने यसै क्षेत्रको विकासले देशले निकास पाउने छ। 

लेखक सूचना प्रविधिका जानकार हुनुहुन्छ। 

 

  

Author

राजेन्द्र चटौत