जलवायु न्याय अभियानकर्ताको भूमिका सहज र सजिलो हुँदैन । पर्यावरणीय कृषि, जलवायुजन्य हानि तथा क्षति र अनुकूलन जस्ता मुद्दामा जलवायु न्यायको दृष्टिकोणबाट नजिकबाट काम गरिरहेको छु । वकालत, जनअनुसन्धान र समुदाय नेतृत्वमा आधारित जनपक्षीय समाधानको कार्यान्वयनमा संलग्न, झुटा कथनलाई खण्डन गर्दै र बजार तथा उद्योग आधारित झुटा समाधानलाई चुनौती दिँदै आएको छु । कोप–२९ बाकुमा खनिज इन्धन–आधारित आर्थिक प्रणालीले सञ्चालित विकसित पक्षहरूबाट विश्वासघात भएको सबैले महसुस गरेकै हो । केही राम्रो कदमको आशा र आदिवासी तथा नागरिक समाजको सम्मानजनक प्रतिनिधित्व हुने विश्वास लिएर बेलेम पुगेका थिएँ । यो कोप हाम्रा लागि विशेष महत्वको थियो । यो विश्वकै सामाजिक र आदिवासी आन्दोलनको मुटु ब्राजिलको अमेजोनियामा आयोजना गरिएको थियो । यही नोभेम्बर महिनाको १२–१६ सम्म बेलेममा विशाल सम्मेलन समानान्तर रूपमा भइरहेको थियो ।
कोप–३० को अध्यक्षताले मानव अधिकार, परम्परागत मान्यता, विरोध गर्ने अधिकार र बोल्ने अधिकार जस्ता विषयको पनि सम्मान गर्न सकेन । प्रकृति र आफ्नो जीवन–जीविकाको रक्षा गरिरहेका समुदायलाई नै धम्कीको माध्यमले प्रक्रियाबाट वञ्चित गरियो । ११ नोभेम्बरमा केही आदिवासी समूह कोप–३० भइरहेको ठाउँमा प्रवेश गरी प्रतिनिधित्वको माग, झुटा समाधानको अस्वीकृति र अमेजोनमा खनिज इन्धन अन्वेषण रोक्नुपर्ने माग लिएर पुगेका थिए । त्यसपछि युएनएफसिसिसीका कार्यकारी सचिवको पत्रलाई आधार बनाउँदै राज्यले सुरक्षा र सैन्यकरण बढायो । विश्वभर बढ्दो प्रवृत्ति अनुसार, विरोधको आवाजलाई दबाउने, आन्दोलनलाई पनि सैन्य शैलीमा दबाउने र भूमि तथा वातावरणका रक्षाकर्ता–विशेष गरी ब्राजिलियन अमेजोनका आदिवासीको हकहितको कुनै पनि कोणबाट सम्बोधन गर्ने अवस्था देखिएन ।
सन् १९९२ मा स्थापित युएनएफसिसिसीको इतिहास पनि बिर्सिने काम भयो । नागरिक समाजको निरन्तरको सङ्घर्ष र रियो सम्मेलनमा लाखौँ मानिसको सहभागिता तथा विश्वव्यापी जलवायु कारबाही मागको नतिजा चाहे जस्तो आउन सकेन । जसका कारण जलवायु पीडितको आवाज सुन्ने मूल उद्देश्यलाई नै बेवास्ता गरिएको अनुभूति हुन्छ । सम्मेलन सफल बनाउने अभियानमा नागरिक समाज, आदिवासी समुदाय र अन्य आन्दोलनहरू महत्वपूर्ण शक्ति थिए तर अहिले त्यो मार्गलाई बेवास्ता गरिँदै छ । आम जनता सम्मेलन स्थलबाहिर सङ्गठित भइरहेका छन् । यो स्थान जनताको माग पूरा गर्न असफल भएको प्रतीत हुन्छ । उल्टै हाम्रो भूमि, पानी, हावा, जङ्गल जस्ता जीवनका आधारभूत सामुदायिक सम्पत्तिहरूलाई व्यापारीकरण गर्ने ठाउँ बन्दै गएको छ । करिब १६०० खनिज इन्धन हित–समूह प्रतिनिधिको उपस्थिति र विश्व उत्तरी ध्रुव–केन्द्रित देशहरूले पेरिस सम्झौताको धारा ९.१ जसले विकसितबाट विकासशील देशतर्फ अनुकूलन र न्यूनीकरणका लागि वित्त प्रवाहको व्यवस्था गर्छ, त्यसमाथिको छलफल नै रोकिएको छ । एकतर्फी व्यापारिक कदम, अतिरिक्त अनुकूलन कोषको लक्ष्य, एनडिसी कमी सम्बोधन नगरी अझै टिएफएफएफ तथा कार्बन मार्केट जस्ता झुटा समाधानतिर धकेलिरहनुले सम्मेलनको उपयोगिता सिद्ध गर्दैन ।
यस वर्ष ब्लु र ग्रिन जोनहरूका अतिरिक्त (एग्रिजोन) कृषि क्षेत्र नामक छुट्टै क्षेत्र स्थापना गरिएको देख्नु झनै दुःखद थियो, जसलाई ब्राजिलको सार्वजनिक कृषि अनुसन्धान संस्था इम्ब्रापाले आयोजना गरेको थियो । नेस्ले तथा विषादी कम्पनी बायरले प्रायोजन गरेका थिए । यसको स्पष्ट सन्देश थियो यहाँ किसान–मुखी कृषि वा जनपक्षीय कृषि समाधानको कुनै सम्भावना छैन । यस्तै, विश्वकै ठुलो मासु उत्पादक जेबिएसले प्रमुख ब्राजिलियन मिडियालाई प्रायोजित गर्दै विगतका दूराचारलाई धोइपखाली गर्ने र जलवायु सङ्कटबाट सबैभन्दा प्रभावित समुदायलाई नै दोष थोपर्ने प्रयास जारी राखेको छ ।
यति धेरै प्रतिबन्ध र भित्री हरियाली–धोइपखाली हुँदाहुँदै पनि यस वर्ष विश्वभरका आन्दोलनले बेलेमका सडकमा ७० हजारको शक्तिशाली उपस्थितिसहित जनताको शक्ति पुनस्र्थापित गरे । आन्दोलनकारीले व्यवस्थागत रूपान्तरणको माग, झुटा समाधानको अस्वीकृति र १५ बुँदे घोषणा जारी गरी कोप अध्यक्षता तथा ब्राजिलका मन्त्रीहरूलाई हस्तान्तरण गरेका छन् । पिपुल समिट गाउँ, नदी, समुद्र, जङ्गल, पहाड, हिमाल, तराईका समुदाय, सहरी मजदुर, महिला, युवा, बालबालिका तथा सबैको सङ्घर्षको विशाल सङ्गम थियो । यसले विश्वलाई भनेको छ हाम्रो समुदायका वास्तविक समाधान र निर्णय यी हलभित्र होइन, सडक र समाजमै जन्मिन्छन् ।
अझै बाँकी रहेको कोप–३० को एक हप्तामा, नागरिक समाजसँग सम्बन्धित संस्थाहरू, आन्दोलन र सङ्घर्षरत समुदायले आन्दोलनको मुटु मानिने देशबाट आएको अध्यक्षताले निष्पक्ष भएर काम गर्ने छ । कोप असफल नबनाइयोस् भन्ने अपेक्षा पनि धेरैले गरेका छन् । राष्ट्रपति लुलाका शब्द अहिले पनि प्रतिध्वनित छन्– “यो अनुकूलनको कोप हुने छ, सत्यको कोप हुने छ ।”
(जलवायु सम्मेलनका क्रममा ब्राजिल पुगेका नेपाली युवाको अनुभव)