ढल्केबर समाचारदाता
ढल्केबर, वैशाख १९ गते । धनुषाको गोदार चोक र त्यस वरपरका बस्ती साँझ पर्नासाथ घरघरमा बल्ने विद्युतीय बल्बले झिलिमिली देखिन्छ। विद्युतीय पोलमा झुन्डिएको बल्बले बाटो पनि रातभर उज्यालो रहन्छ। २०४५ सालदेखि यहाँका बासिन्दा विद्युतीय बल्बको प्रकाशमा जीवननिर्वाह गर्दै आएका जानकारहरू बताउँछन् तर त्यही गोदारमा रहेको १३५ घरधुरी मुसहर बस्तीका मुसहर समुदाय भने अझै टुकी र लालटेन बालेर जीवनयापन गर्न बाध्य छन्।
पूर्वपश्चिम राजमार्ग तथा गोदार चोकबाट मुस्किलले चार सय मिटर उत्तरमा रहेको यस मुसहर बस्तीको कुनै पनि घरमा बिजुली बत्ती जडान छैन। बिजुली मात्र होइन, खानेपानीको धारा र शौचालयसमेत कसैको घरमा छैन। बस्तीमा अभावै अभाव छ। बस्तीको मुखमै गणेशमान चारनाथ नगरपालिका–६ को वडा कार्यालय छ तर पनि टोलका मुसहर समुदाय विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत सेवासुविधाबाट टाढा छन्।
बस्तीका ७० वर्षीय दिपो सदाले स्थानीय तहबाट कुनै सहयोग नपाएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “हेर्दाहेर्दै वरपर टोलका बाटो पक्की ढलान र कालोपत्रेमा परिणत भए। घरघरमै शौचालय, खानेपानीको धारा र बिजुली बत्ती पुग्यो। हाम्रो जीवनशैली भने जस्ताको त्यस्तै छ।” उमेर १७ वर्ष हुँदा घर बनाउन बुवालाई सघाएको सम्झँदै उहाँले यहीँ बस्न थालेको ५० वर्षभन्दा बढी भएको बताउनुभयो।
मुसहर समुदायका अगुवा महिला विन्दादेवी सदाले बिजुली र खानेपानीलगायतका सुविधा नहुँदा निकै समस्या भोग्नु परिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले पनि हामी अन्धकार हटाउन टुकी बाल्छौँ। कसैकसैले चार्ज लाइट बाल्छन्। त्यो पनि छिमेकी टोलमा लगेर चार्ज गर्नुपर्छ।”
विन्दादेवी पूर्ववडासदस्य हुनुहुन्छ। उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा दलित कोटाबाट निर्वाचित हुनुभएको थियो। उहाँले भन्नुभयो, “जनप्रतिनिधिका रूपमा गाउँको समस्यालाई उठाउने प्रयास गरेँ तर अन्य जनप्रतिनिधि साथीले कार्यपालिकाको एजेन्डा पनि बन्न दिएनन्।”
मुसहर समुदायलाई खानेपानीका लागि नगरपालिकाले एउटा इनार दिएको छ। त्यही इनारमा डोरीको सहायताले पानी भरेर उहाँहरू आवश्यकता परिपूर्ति गर्दै आउनुभएको छ। शौच बस्न भने बस्ती पछाडिकै झाडीमा जानुहुन्छ।
स्थानीय युवा विनोद कार्कीले चरम गरिबीको रेखामुनि रहेका यहाँका मुसहर समुदायको कृषि मजदुरी नै मुख्य पेसा भएको बताउनुभयो। बस्तीका पुरुष र महिला एक दिन काम गर्न गएनन् भने चुलो नै बल्दैन। कमाइ खाने आफ्नो एक टुक्रा जग्गा पनि नभएको उहाँले जानकारी दिनुभयो।
गणेशमान चारनाथ नगरपालिका–६ का वडाध्यक्ष रन्जित साहले मुसहर बस्ती नै बाटोको जग्गामा भएकाले त्यहाँ विकासका काम नभएको बताउनुभयो। “सार्वजनिक बाटो मिचेर घर बनाएर बसेका छन्। नियमले त्यहाँ विकास खर्च गर्न नमिलेकाले आवश्यक सेवासुविधा उपलब्ध गराउन नसकिएको हो,” उहाँले भन्नुभयो।
गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादवले गोदारका अव्यवस्थित बसोबास गरिरहेका मुसहरलाई अन्त कतै जग्गा दिएर सम्पूर्ण सुविधासहितका घर निर्माण गरिदिने योजना रहेको बताउनुभयो। जनता आवास योजनाअन्तर्गत घर निर्माण गर्न पहल भइरहेको जानकारी दिँदै उहाँले यसका लागि सङ्घीय तथा मधेश सरकारका सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै पटकपटक गएर भेटेको बताउनुभयो।