• १० मंसिर २०८१, सोमबार

अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्षबीच भेटवार्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १८ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गर्नुभएको छ । सोमवार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुइ देशबीचको पाँच दशक लामो दौत्यसम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आइपियुलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भैरहेको चर्चा गर्नुभयो ।

पछिल्लो समय कम्बोडियाले गरेको शान्ति, विकास र प्रगतिका लागि बधाई दिँदै नेपालले समेत सिको गर्नुपर्ने उहाँले सो अवसरमा बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले  ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्न नेपाल कम्बोडिया सिधा हवाई सेवा सुरू हुने आशा समेत व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

त्यस्तै कम्बोडियन सिनेटका अध्यक्ष सुमले दुइ देशबीच १९६२ बाट सुरू भएको सम्बन्ध विभिन्न समयमा फरक फरक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै दुर्इ देशबीचको साझा हितका विषयमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

आजै एसियाली साँस्कृतिक परिषद्का अध्यक्षले अतिथिहरूको सम्मानमा रात्रीभोजमा अध्यक्ष तिमिल्सिना सहभागी हुने  र भोली कम्बोडियाको राजधानी नोम्पेहमा आयोजना हुने कम्बोडियाका प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधी तथा वर्ल्ड फेलोसिप अफ बुद्धिष्टको संरक्षक (प्याट्रोन) को उपाधी प्रदान गर्ने कार्यक्रममा सहभागी भई बधाइ समेत दिने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।