• १८ असार २०८१, मङ्गलबार

प्रदेश सरकारले दिएको एम्बुलेन्स पालिकाहरुबाट फिर्ता

blog

बझाङको छविसपाथिभेरास्थित मटेला स्वास्थ्यचौकीले फिर्ता गरेको एम्बुलेन्स । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख १८ गते । उपचार सहजताका लागि सुदूरपश्चिम प्रदेश सरकारले दिएको एम्बुलेन्स स्वास्थ्य संस्था र पालिकाहरुले प्रदेश सरकारलाई नै फिर्ता गर्न थालेका छन् । एम्बुलेन्स बिग्रेपछि खर्चिलो र पहाडी जिल्लाका लागि अनुपयुक्त भएपछि एम्बुलेन्स पाएका स्वास्थ्य संस्था र पालिकाले साढे तीन वर्षमै सरकारलाई एम्बुलेन्स फिर्ता गर्न थालेका हुन् ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ६ करोड २५ लाख १२ हजार रुपियाँमा १६ वटा एम्बुलेन्स खरिद गरेर अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई २०७६ कात्तिकमा हस्तान्तरण गरेको थियो । स्वास्थ्य क्षेत्रमा सुधारका लागि दिइएको एम्बुलेन्स आफै बिरामी पर्न थालेपछि मन्त्रालयमा एम्बुलेन्स फिर्ता पठाउन थालिएको छ । बारम्बार एम्बुलेन्स बिग्रिदा मर्मत गर्नै समस्या भएको पालिकाहरुले जनाएका छन् । यसैगरी, इन्धन पनि बढी खानेगरेको जनाएको छ ।  

पहाडको साँघुरो बाटोमा चलाउन समस्या भएपछि सामाजिक विकास मन्त्रालयलाई नै एम्बुलेन्स फिर्ता गरेको बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गगन ऐडीले बताउनुभयो । 

‘हाम्रो गाउँपालिकाको मटेला स्वास्थ्य चौकीले एम्बुलेन्स बुझेर ल्याएकै हो’ उहाँले भन्नुभयो, ‘पहाडमा चलाउन समस्या भएपछि कार्यपालिकाको निर्णयअनुसार मन्त्रालयलाई फिर्ता गरिसकेका छौं । धनगढीस्थित कोरोना अस्पतालमा एम्बुलेन्स राखिएको छ ।’ 

सो गाउँपालिकाले सात वटै वडामा सञ्चालन गर्नेगरी आफैले नयाँ एम्बुलेन्स खरिद गर्ने प्रक्रियालाई अगाडि बढाइसकेको जनाएको छ । प्रदेश सरकारले टाटा कम्पनीको ४०७ मोडेलको एम्बुलेन्स गरिद गरेको थियो । यो मोडेलको गाडी एम्बुलेन्स नभइ मिनी ट्रकको रुपमा प्रयोग हुनेगरेको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो । 

यसैगरी, एम्बुलेन्स खरिद प्रक्रियामा गम्भीर त्रुटि र आर्थिक अनियमितता भएको भन्दै तत्कालीन प्रदेश सभा बैठकमा बारम्बार कुरा उठेको थियो । सरकारले प्रदेशको १६ वटै निर्वाचन क्षेत्रमा एक–एक वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स दिएको थियो । तर, पहाडी क्षेत्रमा मात्रै नभइ तराईमा पनि एम्बुलेन्स टिकाउ बन्न सकेको छैन । बढी बिग्रिने र खर्चिलो भन्दै स्वास्थ्य संस्था र पालिकाले प्रदेश सरकारलाई एम्बुलेन्स फिर्ता गरिसकेको बताएका छन् । 

बैतडीको पञ्चेश्वर गाउँपालिका, डिलासैनी, बझाङको केदारेस्युँ, बाजुराको बुढीगङ्गा नगरपालिकास्थित टाटे स्वास्थ्य चौकी, डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरिसकेको जनाएको छ । यस्तै, जिल्ला अस्पताल अछाम र डोटीले पनि पाएको एम्बुलेन्स फिर्ता गरेको जनाएको छ । 

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले बैतडीको एक पालिकाले मात्रै मन्त्रालयलाई एम्बुलेन्स फिर्ता बुझाएको बताउनुभयो । ‘यहाँ बुझाइएको एम्बुलेन्सलाई सञ्चालनका लागि गोदावरी नगरपालिकाले लगिसकेको छ’ उहाँले भन्नुभयो, ‘अरु एम्बुलेन्स कहाँ बुझाइएको हो, हामीलाई जानकारी छैन ।’ 

एम्बुलेन्सले इन्धन बढी खपत गर्नेगरेको गुनासो आउनेगरेको उहाँले बताउनुभयो । ‘स्वास्थ्य संस्थाले एम्बुलेन्स बुझाए पनि त्यो यत्तिकै रहँदैन’, जोशीले भन्नुभयो, ‘अरु स्वास्थ्य संस्थाहरुले लगेर सञ्चालन गर्छन् ।’